Logo

राजनीतिक विश्लेषक रायमाझीको प्रश्नः ‘नक्कली शरणार्थी प्रकरणमा अडियो पुष्टि हुँदा पनि अनुसन्धान किन रोकियो ?’



काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नता पुष्टि भएकालाई अनुसन्धानको दायरामा ल्याउन पर्ने बताएका छन् । नीतिगत भ्रष्टाचारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउँदै उनले सत्ता साझेदार दलमा आवद्ध मानिसहरुलाई कानुन नलाग्ने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् । राज्यले भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणको अनुसन्धानलाई प्रतिशोध साँधेर हुर्मत लिने र सत्ता टिकाउने खेलको रुपमा लिन नहुने उनको भनाई छ ।

‘कसुरदार ठहरी सकेका अडियो प्रकरणका व्यक्तिउपर अनुसन्धान गर्न किन सिआईबी रोकियो ? संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ । तर, व्यक्ति विशेष र सत्तासाझेदारहरुलाई भने कानुन नलाग्ने ?’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणातर्फ लक्षित गर्दै उनले भनेका छन, ‘विधीको शासन भ्रष्टाचारमुक्त जनचाहनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्न सक्छ कि सक्दैन ? केही व्यक्ति विशेषको हुर्मत लिने प्रतिशोध साधेर सत्ता टिकाउने अस्त्रका रूपमा अनुसन्धान गर्ने निकायलाई परिचालन गर्न खोजिँदैछ ।’

व्याप्त भ्रष्टाचार कुशासनले देश अक्रान्त बनेको विश्लेषक रायमाझीको बुझाई छ । उनले राजनीतिक माफिया र प्रशासनिक भ्रष्टहरूको सञ्जालभित्र नेपाली जनताको भविष्य अन्धकार बन्दै गएको टिप्पणी गरेका छन् ।

ललिता निवास प्रकरण नक्कली भुटानी शरणार्थी काण्डमा नीतिगत भ्रष्टाचारको नाममा कसैलाई पनि उन्मुक्ति दिने छुट नभएको भन्दै उनले राज्यको सम्पत्तिमा हानीनोक्सान पुर्याउने जोकोहीलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताएका छन् ।

उनले भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारको विभेदकारी नीतिकाविरुद्ध अब जनता मुखदर्शक भएर नबस्ने मूल्यवृद्धि र करको आतंकले उद्योग व्यवसाय सारा धरासायी हुँदै गएका छन् ‌।

अहिलेको विद्यमान परिस्थितिमा नागरिकहरू दलीय स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर देश र भावी सन्ततिका लागि जाग्न विलम्ब गर्न नहुने उनको जोड छ । असफल कूटनीति र वैदेशिक हस्तक्षेपले देशको सार्वभौमसत्ता धर्मराइरहेको उनको बुझाई छ ।

उनले भ्रष्टाचारबाट कमाएको अकुत सम्पतिलाई राष्ट्रियकरण गर्ने र हरेक क्षेत्रमा राष्ट्रघातीलाई सामाजिक बहिस्कार गर्ने अभियान देशव्यापी रूपमा सशक्त बनाउन सबै समक्ष आह्वान गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot