Logo

प्रचण्ड-ओलीको साक्षीमै सीमित कांग्रेस



काठमाडौं, असार ३१ । सत्ता सञ्चालन र प्रतिपक्षी दुवै भूमिकामा कम्युनिस्ट नेताहरू हाबी हुँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दुई कम्युनिस्ट नेताहरूको साक्षीमै सीमित भएको छ । सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी बेन्चमा नेकपा (एमाले) ले निर्णायक भूमिकामा देखिएसँगै नेपाली कांग्रेसको भूमिका साक्षीमै सीमित हुँदै आएको हो ।

सत्ता पक्षबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सबै निर्णय लिने गरेका छन भने प्रतिपक्षमा एमालेले सत्ताधारी दलहरूलाई आच्छुआच्छु पारेको छ । कतिपय राष्ट्रिय मुद्दाका सन्दर्भमा समेत प्रधानमन्त्री दाहाल र विपक्षी दलका नेता ओलीकै चर्को स्वर सुनिने गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्री दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच बेलाबखत हुने छलफल र निर्णयको साक्षी बस्नमै सीमित हुने गरेको कांग्रेसकै नेताहरूको टिप्पणी छ ।

‘सरकार सञ्चालन र प्रतिपक्षीसँगसमेत गठबन्धनको तर्फबाट कांग्रेसको भूमिका कमजोर देखिएको छ’, कांग्रेसका एक नेताले भने– ‘गत पुस १० मा गठन भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाले–माओवादी गठबन्धनको सरकारमा सबै निर्णयहरू केपी ओलीले नै गर्ने गरेका थिए। सायद प्रधानमन्त्री प्रचण्डले त्यही पीरले पनि एमालेसँगको गठबन्धन तोडेका हुन सक्छन् । तर, अहिले प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन दलका नेताहरूसँग खासै सोधिरहनुपर्ने अवस्था छैन ।’

गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले प्रधानमन्त्रीका कुनै निर्णयमा हस्तक्षेपकारी भूमिका नदेखिएको उनले बताए । कांग्रेसले प्रतिपक्षको गालीलाई समेत सहजै पचाउने गरेको नेताहरूले बताएका छन् । प्रतिपक्षी दलका नेताहरूले सरकारका प्रत्येक क्रियाकलापको हिसाबकिताब एक–एक मागी रहँदा सत्तासाझेदार दल कांग्रेस संस्थागत हिसाबले आफ्नो धारणा बनाउन सकेको छैन । कांग्रेसका कतिपय सांसदहरूले सदनमा उठाएका विषय उनीहरूको व्यक्तिगत धारणा मात्रै बन्ने गरेको कांग्रेस सांसदहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot