Logo

पाँच जना मिलेर एक जना पछारेको हो, कांग्रेसलाई एथ्लेटिक्सको स्वर्ण पदक दिन मिल्दैनः अमरेश सिंह



काठमाडौं, ३ असार । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसको लोकप्रियता आम जनमानसमा घट्दै गएको टिप्पणी गरेका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले पाँच दलसँग गठबन्धन गरेको स्मरण गराउँदै प्रत्यक्ष निर्वाचित संख्याको आधारमा नभएर समानुपातिक मतको आधारमा कांग्रेसको अवस्थाको विश्लेषण गर्न आवश्यक रहेको बताएका हुन् ।

‘प्रत्यक्षमा सबै दलहरुको मिलाएर भोट आएको, पाँच दलको भोट हो नि । पाँच दल मिलेर एक जनालाई पछारेको हो । कुस्ती हुन्छ नि हाम्रो गाउँतिर, पाँच जना मिलेर एक जना पछारेपछि त्यसलाई एथ्लेटिक्सको स्वर्ण पदक दिन मिल्छ ? कांग्रेसको रियल धरातल समानुपातिक मतमा खोज्नुपर्छ । समानुपातिकमा प्रतिशत पानि घटेको छ, भोटपनि घटेको छ, देशको जनसंख्या बढ्ने, युवाको संख्या बढ्ने र कांग्रेसको भोट घट्ने यसको जिम्मा कसको ?’– उनले प्रश्न गरे ।

साथै, आफूले कांग्रेस नछोडेको उनको दाबी छ । उनले आफूले पार्टी छोडेको नभई सभापति शेरबहादुर देउवाले कांग्रेसमा बस्न नदिएको बताए । ‘मैले नेपाली कांग्रेस छोडेकै छैन । मलाई तत्कालीन सभापतिले नेपाली कांग्रेसमा बस्ने अवस्था रहन दिएनन् । मैले छोडेको होइन,’– उनले भने ।

देउवाको नेतृत्वमा पार्टी रहेसम्म कांग्रेस सुध्रिने र जनतामा आश लाग्ने कुनै सम्भावना नरहेको उनको दाबी छ । नेतृत्वको कारण कांग्रेस भ्रष्टीकरण र व्यापारीकरण पथमा हिँडेको उनको आरोप छ ।

‘जबसम्म अहिलेको सभापतिजीको नेतृत्व रहन्छ, तबसम्म नेपाली कांग्रेस सुध्रिने र जनतामा आश लाग्ने कुनै सम्भावना नै छैन । अहिलेको नेतृत्वले पार्टीको भ्रष्टीकरण गर्दिएको छ । पार्टीको व्यापारीकरण गर्दिएको छ, युवालाई कुनै आश नै छैन । भ्रष्टाचारीमाथि कारबाही हुदैनहुने भयो,’– उनले भने ।

पार्टी सभापति देउवा पाँच पटक प्रधानमन्त्री बनेपनि कहिल्यै भ्रष्टाचारीलाई कारबाही नगरेको र भ्रष्टाचार बढेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot