Logo

अठसट्ठी प्रतिशत मात्र रोपाइँ



काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो ।

मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको छ । जब कि गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको थियो । अर्थात् गत वर्षको तुलनामा अझै २० प्रतिशत रोपाइँ कम भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले साउनको अन्तिमसम्ममा ९५ प्रतिशत रोपाइँ हुने दाबी गरे ।

मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा ढिलाइ भएको उनको भनाई छ । त्यस्तै कर्णाली प्रदेशमा गोरुमा पनि ‘लम्पी स्किन’ रोग देखापरेका कारण रोपाइँ थोरै प्रभावित भएको प्रदेशबाट जानकारी प्राप्त भएको प्रवक्ता सञ्जेलले बताए।

सुदूरपश्चिम प्रदेशमा लगभग रोपाइँ सम्पन्न नै भइसकेको छ । त्यहाँ साउन ५ गतेसम्म ९८ प्रतिशत रोपाइँ भएको हो । यो गत वर्षभन्दा पनि बढी हो । सुदूरपश्चिम प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो । सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा ४६ प्रतिशत मात्र भएको छ । पूर्वी मधेशमा साउन मसान्तसम्म धान रोपाइँ हुने भएकाले प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ । कोशी प्रदेशमा ७६, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ६७, लुम्बनी प्रदेशमा ७४ र कर्णाली प्रदेशमा ७६ प्रतिशत रोपाइँ भएका छन् । गोरखापत्र दैनिकबाट

 

Author
गोरखापत्र अनलाइन



प्रतिक्रिया दिनुहोस्

Screenshot