Logo

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती



काठमाडौं, साउन ७ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ ।

बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपियाँ चाहिन्छ ।

गत वर्ष पनि सरकारले बजेट भाषणमार्फत नै कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने घोषणा गरेको थियो । तर अर्थ मन्त्रालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि मात्रै रकम उपलब्ध गराएको थियो । कक्षा ६ का विद्यार्थीका लागि थप चाहिने एक अर्ब १५ करोड रुपियाँ पनि अर्थ मन्त्रालयबाट अझै नआएको उपसचिव अर्यालले जानकारी दिए।

उक्त रकम मन्त्रालयले सोधभर्ना गरेर विद्यालयलाई पठाएको छ । अर्थ मन्त्रालयका उपसचिव धु्रव पण्डेले गत वर्ष लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको र खर्च कटौती गर्नुपर्ने अवस्था आएका कारण शिक्षा मन्त्रालयले मागे अनुसारको रकम उपलब्ध गराउन नसकिएको बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot