Logo

बालकृष्ण खाँणको बचाउमा उत्रिए अर्थमन्त्री महत



काठमाडौं,८ साउन । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल पार्टीबाट निलम्बन नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार खाँणको निर्वाचन क्षेत्र रुपन्देही ३ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका खाँणलाई अदालतले दोषी प्रमाणीत नगरेसम्म कारबाही नगरिने प्रष्ट पारे ।

‘स्वयं बालकृष्णजीले म दोषी हैन, गल्ती गरेको छैन, अदालतमा फेस गर्छु भनेको बेला हामीले हटाउन हुँदैन, पहिला पनि यस्ता विषय आएका हुन् फैसला नहुँदै गरिएको छैन, प्रमाणित भएपछि मात्र हुन्छ’, नेता महतले भने, ‘उहाँको पार्टीमा ठूलो योगदान छ, उहाँ परेकोमा हामी दुःखी छौं, हामी छानविनकर्ता होइनौ, हामीले नै दोषी भन्नुहुँदैन,रिस साँध्ने काम गर्नुहुँदैन, दोष भेटिएको छैन ।’

‘ठूलठूला नेताहरुलाई नियोजित रुपमा फसाइएको इतिहास छ, आफ्नै नेताकार्यकर्ताको उक्साहटमा अख्तियारमा पुराइएको हो, त्यही भएका कारण पनि हामीले हतार गर्नु राम्रो होइन,कानुनको कोर्षमा रोक्न कोशिस गरेनौं, निष्पक्ष छानविन हुनुपर्छ’ महतले भने, ‘दोषी प्रमाणित भयो भने कारबाही भइहाल्छ नि । ’

नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेपछि कांग्रेसभित्र खाँणलाई पनि निलम्बन गर्नुपर्ने आवाज उठिरहेको बेला संस्थापन पक्षका नेताहरुभने बचाउमा उत्रिएका छन् । पार्टीको जारी कार्य समितिको बैठकमा बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी बाहेक सबै सदस्यहरुले खाँणको बचाउ गरेका थिए । सहमहामन्त्री महेन्द्र यादवले त खाँणलाई राज्यले फसाएको र अन्याय गरेको दाबी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot