Logo

कालीगण्डकी गाउँपालिकामा अस्पताल खोलेर निःशुल्क उपचार दिएका छौं : अध्यक्ष थापा



काठमाडौं, १२ साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले आफ्नो पालिका दुई वर्षभित्रै ग्यास विस्थापनमा लागेको बताए ।
‘कालीगण्डकी जलविद्युत् आयोजना हाम्रै पालिकामा पर्छ । सबै घरमा बिजुली पुगेको मात्र होइन, न्यूनतम बिजुलीको पैसा समेत तिर्नुपर्दैन । गत वर्ष कालीगण्डकीबाट ग्यास विस्थापित गर्न तीन वर्षे कार्यक्रमअन्तर्गत विद्युतीय चुलोमा अनुदान घोषणा गरेका थियौँ । मापदण्ड बनाएर काम गरिरहेका छौँ । अब दुई वर्षको समय नबाँकी छ । त्यसलाई पूरा गरेर छाड्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अध्यक्ष थापाले आफ्नो दोस्रो कार्यकालमा शिक्षा, खानेपानी, कृषि, ऊर्जा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको पनि बताए । उनले भने, ‘हाम्रो पालिका गण्डकी प्रदेशको विकट ठाउँ हो । यहाँ हामीले अस्पताल बनाएर निःशुल्क उपचार गरिरहेका छौँ । तीनतिरबाट कालीगण्डकीले घेरे पनि यहाँ पानीको अभाव छ । खानेपानीमा अभूतपूर्व रुपान्तरण भएको छ । ४२०० घरधुरीमा धारा जडान गरेका छौं भने बाँकी ८७२ घरधुरीमा चालु वर्षमा पूरा गर्छौं । खानेपानी र सिँचाइका लागि १२ वटा लिफ्टिङ कार्यक्रम छन् ।’ नजिकका रानीमहल, रिडी लगायत स्थानका कारण कालीगण्डकी गाउँपालिकामा धार्मिक र पर्यटकीय विकासको सम्भावना पनि उनले औैल्याए ।

साथै उनले ४५ वटा कानुन बनाएको, हरेक सामुदायिक विद्यालयमा मन्टेसरी कक्षा सञ्चालन गरेको, बालमैत्री पुस्तकालय भएको, कालीगण्डकीबासी सबैको निःशुल्क बीमा गरेको, कृषि कम्पनी सञ्चालन गरी रोजगारी सिर्जना गरेको फेहरिस्त पनि प्रस्तुत गरे ।  अध्यक्ष थापाले आफ्नो पालिका स्याङ्जाको उत्कृष्ट र नमुना पालिका भएको दाबी पनि गरे । उनले भने, ‘हाम्रो पालिका स्याङ्जाको एक नम्बर पालिका हो । बेरुजु कम छ । देशभरिको मूल्यांकनमा पनि उत्कृष्टको लाइनमा छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot