Logo

एमालेले संसद् अवरोध गरेको छैन : सांसद गैरे



काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले आफ्नो पार्टीले संसद् अवरोध नगरेको दाबी गरेका छन् ।
‘साउन ३ गते सुनकाण्ड भयो, आज १४ गतेसम्म पनि सरकार निदाएर बसेको छ । सरकारका उच्चपदस्थ व्यक्तिको संलग्नताबिना यस किसिमको तस्करी सम्भव थिएन । त्यसैले तस्करलाई उन्मुक्ति दिन खोजिएको छ । यति ठूलो सुन तस्करी हुँदाखेरि पनि प्रतिपक्ष चुप लागेर बस्नुपथ्र्यो भन्ने कुरा त भएन नि । हामीले संसद् अवरुद्ध गरेको होइन, प्रश्न गरेको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता गैरेले अन्तर्राष्ट्रिय समुदायमा लज्जाबोध हुने र नेपालको सुरक्षा बदनाम हुने यस घटनाको गहिराइमा पुगेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न शक्तिशाली आयोग बनाउनुपर्ने औंल्याए । उनले भने, ‘यसमा नैतिक प्रश्न जोडिएको छ । हामीले गृहमन्त्री वा अर्थमन्त्रीको राजीनामा मागेका छैनौं । हामीले राजीनामा माग्नेभन्दा पनि आफैं दिनुपर्ने कुरा हो ।’
कोसी प्रदेशमा हिक्मत कार्कीलाई नै मुख्यमन्त्री बनाउन सबै दलले सहयोग गर्नुपर्ने पनि गैरेले बताए । उनले भने, ‘अदालतले मुख्यमन्त्री चयन प्रक्रियामा सभामुख संलग्न हुनु संविधानसम्मत छैन भनिसकेपछि पनि न उहाँले राजीनामा दिनुभएको छ, न त गठबन्धनका नेताहरुले नै त्यसको नैतिक जिम्मेवारी लिएका छन् । यस्तो अवस्थामा हिक्मत कार्कीलाई नै मुख्यमन्त्री बनाउन अरु दलले सहयोग गर्नुपर्ने अवस्था छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot