Logo

सांसद शर्मा माईती नेपालबाट सम्मानित



काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत सांसद शर्मालाई माईती नेपालले सम्मान गरेको हो । आज (आईतबार) काठमाडौंमा एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा अतुलनीय योगदान गरी स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउँन प्रभावकारी भूमिका खेल्दै समाजमा पछाडि पारिएका सीमान्तकृत, सुविधाविहिन र अभिभावकविहीन माइती नेपालका सेवाग्राही बालबालिका तथा महिलाहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुभएकोमा तपाईंको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै यो कदर पत्र प्रदान गरिएको छ,’– कदरपत्रमा भनिएको छ ।

मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद शर्मा मेडिकल व्यवसायी पनि हुन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका थिए । डा.शर्माले हजारौं बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिसकेका छन् । उनी विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालकसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot