कोशी प्रदेश सभामुख गौतम भन्छन्ः ‘प्रदेशले निकास पाउँछ भने म किन बाधक बन्ने ?’ (भिडिओसहित)


काठमाडौं, १६ साउन । कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समय सीमा सकिनै लाग्दा पनि कुनै दलले कुनै दलले बहुमत जुटाउन सकिरहेका छैनन् ।

प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउने तयारी सत्ता गठबन्धनको रहेको छ । तर, आफूले राजीनामा दिँदा पनि बहुमत नपुग्ने सभामुख गौतम बताउँछन् ।

‘मैले राजीनामा दिनका लागि गठबन्धनले बहुमत पुर्याउने क्रममा छ । स्पष्ट बहुमत देखिएको छैन । मैले राजीनामा दिँदा पनि बहुमत छैन । किन राजीनामा दिने भन्ने कुराको उत्तर मैले पाइसकेको छैन । जब कि ४६/४६ छ । सभामुखले राजीनामा दिँदा ४७ त हुन्छ । त्यसपछि विश्वासको मत कसरी लिने ? विश्वासको मत त एक महिनापछि लिन पर्यो । सकैन कसैले सभामुखको आशनमा बस्न पर्यो । उसले मतदान गर्न पाउँदैन, अनी कसरी चल्छ ?’– उनले भने ।

तर, प्रदेशले निकास पाउँछ र जनताले पनि सोही चाहेको हो भने आफू राजीनामाको लागि तयार रहेको उनले बताए । ‘देशले निकास पाउँछ, प्रदेशले निकास पाउँछ, समृद्धि मिल्छ, निकास मिल्छ र जनताले चाहेकै हुन्छ भने म किन बाधक बन्ने ?’– उनले भने ।