Logo

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति



काठमाडौं, साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटान नागरिक उड्डयन प्राधिकरण (भुटान सिएए) ले भैरहवा र पोखरामा सिधा उडानका लागि शुक्रबार पत्र पठाएको जानकारी दिए ।

उनले भने, “नेपालका दुई सुविधासम्पन्न विमानस्थलमा सिधा उडानका लागि भुटानले अनुमति मागेको छ । ड्रयुक एयर र भुटान एयरले सिधा उडान गर्ने गरी मागेको अनुमति प्रक्रिया पूरा भएपछि तालिका सार्वजनिक गरिने छ ।” भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिने प्रक्रियापछि कुन सहरमा कुन बार उडान हुने भन्ने उडान तालिका सार्वजनिक हुने उनले बताए।

उनले भुटानबाट पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ हवाई मार्गमार्फत काठमाडौँ आइरहेका जहाजले यही हवाई मार्ग हुँदै पोखरा र भैरहवा उडान गर्न सक्ने भएकाले हवाई मार्गको समस्या नरहने बताए । हाल ड्रयुक एयरले सातामा चार र भुटान एयरले सातामा दुई वटा काठमाडौँमा उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका अन्य हवाई कम्पनीलाई समेत भैरहवा र पोखरामा उडानका लागि प्राधिकरणले पत्र पठाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता निरौलाले म्यानमार र थाइल्यान्डबाट पनि चाँडै अनुमतिपत्र आउने अपेक्षा गरिएको बताए।

भैरहवा र पोखरामा भुटानबाट सिधा उडान सञ्चालनमा आएपछि ठूलो सङ्ख्यामा बौद्धमार्गी पर्यटकसँगै अन्य मुलुकका पर्यटकसमेत लाभान्वित हुने नेपाललाई प्राप्त पत्रमा उल्लेख छ । गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा हाल नेपाल वायुसेवा निगमले मलेसियाबाट एकतर्फी साताको तीन वटा उडान गर्दै आएको छ । विमानस्थल सञ्चालनमा आएसँगै कुवेतबाट जजिरा एयरलाइन्सले उडान सञ्चालनमा ल्याए पनि हाल उडान स्थगित गरेको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि विदेशी वायुसेवाले नियमित उडान प्रक्रियामा आएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्