Logo

छिमेकी मुलुकसँगको सम्बन्धलाई सञ्तुलनमा ल्याउने कोशिस गरिराखेका छौंः परराष्ट्रमन्त्री साउद



काठमाडौं, २१ साउन । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विगतमा छिमेकी मुलुकसँग भएको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउने कोशिस भइरहेको बताएका छन् । आज (आईतबार) कन्सुलर डिपार्टमेन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा कुनै देशसँग सम्बन्ध विग्रेको रहेछ भनेपनि आफूहरुले सुधारका लागि प्रयास गरिरहेको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण पनि एकदमै राम्रो भएको बताएका हुन् ।

‘विगतमा छिमेकी मुलुकसँग भएको सअन्तुलित सम्बन्धलाई हामी सञ्तुलनमा ल्याउन कोशिस गरिराखेका छौं । काही विग्रेको भत्केको रहेछ भने पनि त्यसलाई सुधार गर्ने प्रयत्नमा छौं,’– उनले भने ।

साथै सेप्टेम्बरको तेस्रो/चौथो हप्तातिर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुने पनि उनले जानकारी गराए । अहिले चीनसँगको सम्बन्ध पनि एकदमै राम्रो रहेको उनको दाबी छ । नेपालका मैत्री सम्बन्ध भएका देशहरु जापान, अमेरिका लगायत लामो समयदेखि नेपाललाई सहयोग गरिराखेका देशहरुको सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको उनको भनाई छ ।

कन्सुलर डिपार्टमेन्टले आफ्नो सेवालाई छिटो र छरितो बनाएर जनतालाई सेवा दिने काम गरिरहेको भन्दै उनले प्रशंसा गरे । कन्सुलर डिपार्टको काम सरकारका अन्य निकायहरुका लागि पनि अनुकरणीय रहेको उनले बताए ।

कन्सुलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेको छ । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सोही कामका लागि दैनिक करिब एक हजार पाँच सय जना विभाग पुग्ने गरेका थिए । Photo by: Mukunda Kalikote/RN 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot