संसद्मा लिङदेनको आक्रोश: सदनलाई तीन दलले बन्धक बनाएर मनपरी गर्न मिल्छ ?


काठमाडौं,२३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सदनलाई शीर्ष तीन दलले बन्धक बनाएको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङदेनले तीन दलले निर्णय गर्दा अन्य दल लुरुलुरु पछि लाग्नुपरेको अवस्था रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले भने “सबै राजनीतिक दल मिलेर जानुपर्ने सन्देश र जनमत र कसैलाई निषेध गर्न नदिने जनमत प्राप्त भयो । निर्वाचन प्रणाली नै त्यस्तो बनाउनुभयो, जहाँ कसैलाई निषेध गर्न मिल्दैन । तर, यहाँ अहिले संसद्को संरचना पनि त्यो बन्यो । केही दल मिलेर संसद्लाई बन्धक बनाउन मिल्छ ? तीनवटा दलको बन्धक मिल्छ ? तीन दलले निर्णय गर्दा लुरुलुरु पछि लाग्नुपर्ने ?”

लिङदेनले सुन बरामद प्रकरणमा अहिले भइरहेको छानविन प्रर्याप्त नभएको कारण उच्चस्तरीय छानविन समिति बनाउन माग गरे “उच्चस्तरीय समिति बनाइदिँदा सरकारलाई क्षति के हुन्थ्यो ? के नोक्सान हुन्थ्यो बुझौँ न त,” उनले भने ।