हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो


एजेन्सी । हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन्।

लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो।

लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो।

घर फर्किन अनुमति दिएसँगै आफ्नो वस्तीमा फर्किँदा अधिकांशले आफ्नो घर खरानीमा परिणत भएको बताएका छन्। आफ्नो घर सकुशल पाएका नागरिकले पनि उक्त घटनामा प्रशासनबाट भएका कमजोरीप्रति आक्रोस पोखेका छन्।

नाम नबताउने शर्तमा एक नागरिकले भने, “सरकार कहाँ छ ? तिनी (नेता)हरू कहाँ छन्?”

“यो नालायकी हो । हामी स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्दैनौं किनकि हामीले लुटपाटको बारेमा सुनेका छौं । हामीले जीउनका लागि धेरै आधार गुमाएका छौँ ।”

हवाईका महान्यायाधिवक्ता एनी लोपेजले आफ्नो कार्यालयले यस हप्ता माउई र हवाई टापुमा लागेको डढेलोको समय र यसपछिका लागि महत्वपूर्ण निर्णय लिने र स्थायी नीतिहरूको परीक्षण गर्ने बताए। उनले आफ्नो विभागले उक्त निष्कर्ष सार्वजनिक गर्ने बताए। रासस