काठमाडौं, ३० साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले ७७ वर्षसम्म एउटै राजनीतिक व्यवस्था कायम रहनु नै मित्रराष्ट्र भारतको समृद्धिको महत्त्वपूर्ण कारण रहेको औंल्याएका छन् ।
‘सन् १९४७ मा स्वतन्त्र भएदेखि भारतमा राजनीतिक रुपमा एउटै व्यवस्था कायम रह्यो । लोकतन्त्र, गणतन्त्रर संघीय व्यवस्थाले संस्थागत विकास भयो । तर नेपालमा अहिले पनि संघीयता व्यवस्था रहन्छ कि रहँदैन भनेर थ्रेट छ । गणतन्त्र चाहिँदैन, संघीयता चाहिँदैन, धर्म निरपेक्षता चाहिँदैन भन्ने कुरा उठिरहेको छ । भारत दुनियाँको पाँचौं आर्थिक शक्तिबाट तेस्रो आर्थिक शक्ति बन्ने अवस्थामा पुगेको छ । यो हाम्रो निम्ति पनि गर्वको कुरा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
विश्व गुरु बन्ने भारतको लक्ष्यमा नेपालले पनि सहयोग गर्नुपर्ने सोनलले बताए । उनले भने, ‘भारतको सामाजिक एकता, आर्थिक समृद्धि, विकासको वृद्धिदर हाम्रा निम्ति अनुकरणीय छन् । दुई ठूला छिमेकी देशको प्रगतिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी लाभान्वित हुन्छौं । समन्वय, सहकार्य र सहअस्तित्वबाट हामी अघि बढ्नुपर्छ ।’
भारत नेपालको असल मित्र मात्र नभएर असल छिमेकी पनि रहेको उनले बताए । सोनलले थपे, ‘सदीयौंदेखि आदि अनादिकालदेखि पशुपतिदेखि विश्वनाथसम्म, हिमालयदेखि गंगासम्म हाम्रो बीचमा रोटीबेटीको सम्बन्ध छ । भारतले यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आर्थिक समृद्धि हासिल गरिरहेको छ । नेपालको लोकतान्त्रिक व्यवस्थाको स्थायित्व, समृद्धिका निम्ति हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ ।’
गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि छानबिन गर्नु उचित नहुने पनि सोनलले बताए । उनले भने, ‘उपेन्द्रजीले गल्ती गर्नुभएको छ वा छैन, मलाई किन भन्न लगाउनुहुन्छ ? मेरो अध्यक्ष समेतले गरेको निर्णय ठीक छ । अहिले सत्ता सञ्चालन गरिरहेका दलहरु कुनै न कुनै बेला संघर्ष र क्रान्ति गरेकै हुन् । सत्ता गठबन्धनले गरेको निर्णय समय सान्दर्भिक छ ।’




प्रतिक्रिया