Logo

पत्रकारलाई ज्यान मार्ने धम्की दिने सहकारीका अध्यक्षलाई कारबाही गर्न पत्रकार महासंघको माग



काठमाडौं,३१ साउन । नेपाल पत्रकार महासंघले काठमाडौंबाट प्रसारण हुँदै आइरहेको बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई एक सहकारीका अध्यक्षले ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ।

महासंघका रोसन पुरीले आज एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोटेओडार सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजी कँडेललगायतका व्यक्तिहरूको संलग्नतामा ज्यान मार्ने धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

टेलिभिजनका अनुसार उक्त सहकारीमा अनमियता भैरहेको जानकारी प्राप्त भएपछि साउन ३० गते मंगलबार पत्रकारद्वय अधिकारी र निरौला समाचार संकलनका लागि काठमाडौंबाट लमजुङस्थित सहकारी पुगेर अध्यक्ष कँडेललाई अनियमितताकाबारे भनाइ राख्न आग्रह गरेका थिए।

तत्पश्चात अध्यक्ष कँडेलले चिया खाँदै कुरा गर्ने भन्दै सहकारीका अन्य पदाधिकारी तथा व्यवस्थापकसहित पत्रकारद्वयलाई स्थानीय एक होटलमा लगेर लमजुङस्थित सुन्दरबजार नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षसमेतको संलग्नतामा बन्धक बनाइ ज्यान मार्ने धम्की दिनुका साथै परिचयपत्र र अन्य सामग्री पनि नियन्त्रणमा लिएको टेलिभिजनले जनाएको छ।

‘स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारमाथि सहकारीका जिम्मेवार पदाधिकारी तथा वडाका अध्यक्षसमेतको संलग्नतामा भएको यो हर्कत अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’



प्रतिक्रिया दिनुहोस्