संसद् राप्रपाले अवरुद्ध गरेको पनि होइन, हाम्रो चाहनाले खुल्ने पनि होइन : लिङ्देन


काठमाडौं, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को गतिरोध अन्त्यको पहल सरकार, सभामुख र प्रमुख प्रतिपक्षी दलबाटै हुनुपर्ने औंल्याएका छन् ।
‘संसद् राप्रपाले अवरुद्ध गरेको पनि होइन, हाम्रो चाहनाले खुल्ने पनि होइन । संसद् खुलाउन हामीले होइन, सरकार, सभामुख र प्रमुख प्रतिपक्षले पहल गर्नुपर्ने हो । अहिलेसम्म हामीसँग कुराकानी समेत गरिएको छैन । सरकार जिम्मेवार भएको भए राष्ट्रिय पार्टीहरुसँग छलफल गरिहाल्थ्यो नि,’  नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अध्यक्ष लिङ्देनले सरकार संसद् भइरहोस् भन्ने पक्षमा रहेको आरोप पनि लगाए । उनले भने, ‘सरकार प्रतिपक्षले संसद् अवरुद्ध गरिरहोस्, सुनकाण्डको कुरा हुँदै गर्दा अन्य प्रकरणमा उन्मुक्ति दिन सकिन्छ भनेर ढुक्क छ । सुन तस्करमा माथिल्लो स्तरका नेताहरुको संलग्नताबिना सरकारले यस प्रकारको अडान किन लिइरहेको छ ? सीआईबीले गृहमन्त्री, अर्थमन्त्री र आईजीपीसँग बयान लिन र पक्राउ गर्न सक्दैन ।’
सुन तस्करीमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर संसद् खोल्नुपर्ने पनि उनले औंल्याए । लिङ्देनले भने, ‘राप्रपा संसद् अवरुद्ध गर्नुहुन्न भन्ने पक्षमा छँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र होइन उत्तरी नाकाबाट पनि सुन भित्रिएको कुरा आएको छ । तर सुन तस्करीको जरासम्म पुग्ने अनुसन्धान गर्नुपर्छ ।’
राप्रपा कुनै पनि हालतमा सत्तामा नजाने तर सरकारले ठीक काम गरे समर्थन दिने पनि अध्यक्ष लिङ्देनले बताए । ललिता निवास प्रकरणमा माधवकुमार नेपाल, बाबुराम भट्टराई र विजय गच्छदार आदि एबीसीडी जो सुकै भए पनि अनुसन्धान र कारबाही हुनुपपर्ने उनले औंल्याए । लिङ्देनले भने, सरकार देखादेखी दोषी उम्काउन खोजिरहेको छ । ललिता निवास प्रकरणलाई सत्ता टिकाउने टुल्स बनाइँदै छ ।’
राप्रपा अध्यक्ष लिङ्देनले तत्काल राष्ट्रिय सहमतिको सरकारको कल्पना नगरेको पनि बताए । उनले भने, ‘गत निर्वाचनमा जुन जनादेश आएको छ, त्यसमा कुनै एक दलमाथि आम जनताको विश्वास देखिएन । मिलेर काम गर्नु, निषेध नगर्नु, विकास र सुशासनलाई प्राथमिकता दिनु भन्ने जनादेश छ । त्यसैले सबैलाई समेटेर अघि बढ्नु उचित हो ।’
कोसी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर आधा आधा अवधि सरकार चलाउनु उपयुक्त हुने विचार पनि उनले दोहोर् याए । उनले भने, ‘अहिले पनि कांग्रेसले एमालेसँग विश्वासको मत लिएर सरकार चलाए हुन्छ । सरकारलाई समर्थन दिने राप्रपाको सोच छैन । सभामुख त पहिले पनि नलिएकै हो ।’