Logo

जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व



जुम्ला, ३ भदौ । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा  ४७ करोड बढी राजस्व सङ्कलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य  ४७ करोड ५६ लाख रहेकामा  ४७ करोड २६ लाख सङ्कलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।

“यस कार्यालयको राजस्व सङ्कलनको अवस्था राम्रो रहेको छ”, सूचना अधिकारी उपाध्यायले भने, “आव २०७८/७९ को तुलनामा  सात करोड बढी राजस्व सङ्कलन भएको छ ।” विभिन्न शीर्षकबाट उक्त राजस्व सङ्कलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो । उहाँका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता सङ्ख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगतरुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा चार करोड ५५ लाख राजस्व सङ्कलन 

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा  चार करोड  ५५ लाख  राजस्व सङ्कलन भएको जनाएको छ । साउनमा  तीन करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली चार करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot