सुशासनको गफ हाँक्ने प्रचण्डको घिनलाग्दो शैली, रोकिएन पार्टीको काममा सरकारी हेलिकप्टरको दुरूपयोग


काठमाडौं, १५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन् । तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा प्रचण्डले आफूले यसपटक देश र जनताको लागि केही नयाँ गरेर देखाउने प्रतिबद्धता जनाएका थिए ।
उनले सुशासनको पक्षमा दृढ भएर उभिने पनि घोषणा गरेका थिए ।

उनको नेतृत्वको सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा सुरुमा केही राम्रा कामको सुरुवात गरेको थियो । तर, दिनहरु बित्दै जाँदा प्रचण्डको बोल्ने एकातिर र काम गर्ने अर्कोतिर भन्ने शैलीको पूनरावृत्ति भयो ।

यो बीचमा उनले आफ्नो कुर्सी जोगाउनकै लागि सत्ता गठबन्धनभित्रै कांग्रेसलाई साईजमा राख्नको लागि समाजवादी मोर्चाको गठन गरे । जसमा माओवादी केन्द्रसहित माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।

अहिले समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभाको आयोजना गरेको छ । मधेश प्रदेशको वीरगन्जबाट सुरु भएको उक्त सभा हिजो कर्णाली प्रदेशको सुर्खेतमा र आज गण्डकी प्रदेशको पोखरामा हुँदैछ । यी तीनै वटा सभामा प्रधानमन्त्री दाहालले नेपाली सेनाको हेलिकप्टर दुरुपयोग गरेका छन् ।

सरकारी काममा नभएर पार्टीको काममा समेत उनले सरकारी सम्पत्तिको यसरी दुरुपयोग गरेपछि अहिले कतिपयले प्रधानमन्त्री दाहालको सुशासनको गफ हावामात्रै भएको भनेर आलोचना गर्न थालेका छन् । आफू जीवनको उत्तराद्र्धमा रहेकोले यसपटक देश र जनताको लागि केही न केही राम्रो छाप छोडेर जाने सार्वजनिक घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डले यस्तो शैलीले कसरी राम्रो छाप छोड्लान त ? अहिले प्रश्न उब्जिएको छ ।

यसअघि बैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा पनि प्रधानमन्त्री दाहालले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सरकारी हेलिकप्टर दुरुपयोग गरेर गठबन्धनका उम्मेदवारलाई मत मागेका थिए । त्यतिवेला अरु दलका उम्मेद्वारले प्रधानमन्त्री दाहालले शक्तिको दुरुपयोग गरेको भनेर सार्वजनिक रुपमा नै आलोचना गरेका थिए ।

परिवारवादमा फसेको आरोप खेपेका प्रधानमन्त्री दाहालमाथि अहिले आफ्नै पार्टीको अनि विश्वासपात्र नेता भ्रष्टाचारमा मुछिएपछि बचाउन लागिपरेको भनेर आरोप पनि लागेको छ । यी सबैलाई जवाफ दिएर भन्दापनि आफ्नो कार्यशैली सच्याएर प्रचण्डले जवाफ दिन सक्नुपर्छ ।

File Photo/ReportersNepal