नेपालमा सुन तस्करी कहिले पनि रोकिनेवाला छैनः पूर्व डिआईजी मल्ल


काठमाडौं, २८ भदौ । नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले नेपालका सुन तस्करी कहिले पनि नरोकिने बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको लिगल इम्पोर्ट र मागको बीचमा ग्यापका कारण सुन तस्करी निरन्तर चलिरहने बताएका हुन् ।

उनले ६० किलो सुन तस्करीमा अनुसन्धानमा प्रहरीले राम्रो काम गर्न सफल भएको पनि बताए । यो अन्तरदेशीय अपराध भएकाले यसको अनुसन्धानमा धेरै प्रकारका चुनौति रहने उनको भनाई छ ।

‘हाम्रो नेपालमा सुन आउने भनेको गल्फबाट या हङ्कङबाट आउने हो । नेपालको लिगल इम्पोर्ट र मागको बीचमा ग्याप छ । त्यो फुलफिल हुनका लागि आउँछ, आउँछ । यो तस्करी रोकिनेवाला छैन । सुन तस्करी कहिले पनि रोकिनेवाला छैन । सुन आइरहेको छ एक ठाउँबाट, ट्रान्जिट भइरहेका छौं हामीहरु, जाने अर्को ठाउँमा हो । फेरि योसँग रकम पनि जोडिएको हुन्छ । अन्तरदेशीय सञ्जाल नबनाई यो काम हुँदैहुँदैन । यसको फैलावट छ,’– उनले भने ।