Logo

कोशीबाट ओली र माधव नेपालबीच सहकार्यको सम्भावना बढेको नेताहरुको भनाई, आज शेरधन र राजेन्द्रबीच भेटवार्ता



काठमाडौं, १ असोज । पार्टी विभाजनपछि पानी बाराबारको अवस्थामा रहेका केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच सहकार्यको लागि प्रयास भएको छ । खासगरी कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर दुई दलबीच सहकार्यलक्षित छलफल सुरु भएको छ । एमालेले नै कोशी प्रदेशमा सहकार्यको लागि एकीकृत समाजवादीसँग प्रस्ताव गरेको खुलेको छ ।

आज (आइतबार) एमाले अध्यक्ष ओलीका विश्वासपात्रसमेत रहेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले एकीकृत समाजवादीसमक्ष कोशीमा सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । शेरधनले एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईसँग यही विषयमा केन्द्रित रहेर छलफल गरेको खुलेको हो । सो क्रममा शेरधनले कोशीमा सत्ता सहकार्यको लागि प्रस्ताव गरेको र दुई दलले मुख्यमन्त्रीमा आलोपालो गर्नसकिने प्रस्ताव राखेका थिए । जवाफमा राजेन्द्रले सहकार्य गर्नसकिने जवाफ दिएको बताईएको छ ।

कोशी प्रदेशमा सत्ता गठबन्धन र एमालेको मत बराबर छ । पटक पटक सत्ता गठबन्धनले संवैधानिक व्यवस्थाको नै उल्लंघन गरेपछि सर्वोच्च अदालतले पछिल्लो समय ठूलो दलको हिसाबले एमालेका संसदीय दलका नेता हिक्कमत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । अदालतको फैसला अनुसार गत भदौ २२ गते कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ४७ प्रदेशसभा सदस्यको समर्थन पाउनुपर्छ । एमालेको ४० प्रदेशसभा सदस्य छन् । एकीकृत समाजवादीको ४ सिट छ । राप्रपाले पनि आफूहरुलाई नै सघाउने एमाले नेताहरुको विश्वास छ । कोशी प्रदेशमा राप्रपाको ६ सांसद छन् ।

कतिपयले भने कोशीमा एमाले र एकीकृत समाजवादीबीच हुने सहकार्यले केन्द्रमा ओली र माधव नेपालबीच सहकार्यको लागि बाटो खोलिदिने भनेर पनि चर्चा गर्न थालेका छन् । दुई दलबीच सहकार्य हुने वा नहुने भन्ने कुरा कोशी प्रदेश सरकारमा हुने सहकार्यको निर्णयले पनि अर्थ राख्ने नेताहरुको भनाई छ । तर, कतिपयले भने कोशी प्रदेशको सरकारमा सहकार्यको लागि ओली र माधव नेपालबीच कुरा मिल्ने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot