Logo

इलाममा पार्टीको विरासत जोगाउन सुहाङलाई राजनीतिमा अगाडि बढाउने एमालेको तयारी



काठमाडौं,२ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रतिनिधि सभाअन्तर्गत इलाम निर्वाचन क्षेत्र २ रिक्त भएको छ । संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री, लेखा समितिको सभापतिकोसमेत जिम्मेवारी सम्हालेका नेम्वाङको गत मंगलबार हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा इलाम -२ बाट निर्वाचित भएका थिए ।

नेम्वाङको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा अब उपनिर्वाचन हुनेछ । निर्वाचन आयोगले उपनिर्वाचनमार्फत रिक्त स्थानको पदपूर्ति गर्ने तयारी गरिरहेको छ । आयोगले उपनिर्वाचनको तयारीबारे सरकारसँग छलफल भइरहेको बताएको छ । आगामी माघमा राष्ट्रिय सभाको पनि निर्वाचन गर्नुपर्ने हुँदा त्यो भन्दा अगाडिनै उपनिर्वाचन गराउन सम्भव नभएको आयोगले बताएको छ ।

रिक्त रहेको क्षेत्रमा निर्वाचनको मिति तय नभएपनि नेताहरुबीच आसन्न उपनिर्वाचनलाई लिएर उममेदवारबारे चर्चा सुरु भएको छ । उपनिर्वाचनमा सुवास नेम्वाङकै परिवारबाट उम्मेदवार उठाउने वा अन्य नेतालाई उम्मेदवार बनाउने भन्नेबारे एमालेमा सामान्य छलफल सुरु भएको उच्च स्रोतले जनाएको छ । स्वर्गीय नेम्वाङका ४ सन्तानमध्ये कान्छा छोरा सुहाङमात्रै समान्य राजनीतिमा संलग्न रहेका छन् । भने अरु सन्तान भोटरको रुपमा मात्रै रहेका छन् ।

सुवास जस्तै उनका छोरा सुहाङपनि पेशाले कानून व्यवसायी हुन् । उनले बाबुको विरासत जोगाउँदै कानून व्यवसाय अंगाल्दै आएका छन् । नेताहरुले सम्भावित उम्मेदवारको बारेमा चर्चा गरिरहँदा स्वयं सुहाङले पनि राजनीतिमा आउने संकेत गरेका छन् ।

भदौ ३० गते सुवास नेम्वाङको निधनमा समवेदना व्यक्त गर्न निजी निवास बालुवाटार पुगेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सुहाङले बाबुले पुरा गर्न बाँकी रहेको कामहरु पूरा गर्न पार्टीले सपोर्ट र आत्मबल दिनेमा आफू विश्वस्त रहेको बताउँदै राजनीतिमा आउने जनाउ दिईसकेका छन् ।

‘हजुरहरु यहाँ हामीलाई आत्मबल प्रदान गर्न आउनु भएकोमा म एकदम आभारी छु, हाम्रो परिवार आभारी छ । उहाँले गर्नुभएका र अब गर्नपर्ने धेरै कामहरुका लागि यसरी नै आत्मबल प्रदान गरिराख्ने र त्यसलाई सम्पन्न गर्न हामीलाई सपोर्ट र आत्मबल प्रदान गर्नुहुनेछ भन्न चाहन्छु,’– पौडेल नेतृत्वको एमाले टोलीसँग उनले भनेका थिए ।

स्वर्गीय नेम्वाङ २०५६ सालदेखि लगाताररुपमा इलाम २ बाट निर्वाचित हुँदै आएका थिए । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन पार्टी अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता केपी शर्मा ओली पराजित हुँदा नेम्वाङ भने शानदार मतसहित निर्वाचित भएका थिए । लगताररुपमा निर्वाचन जित्दै आएपनि पछिल्लोे समय इलाममा एमालेको मत खस्कँदो अवस्थामा रहेको छ ।

गत आम निर्वाचनमा झिनो मतलेमात्रै नेम्वाङ निर्वाचित भएका थिए । यो सबै कूरा बुझेका एमाले नेताहरु नेम्वाङको परिवारभन्दा बाहिरबाट उम्मेदवार बनाउँदा हार्ने कुरामा सचेत रहेका छन् । एमालेले २०५६ सालदेखि लगातार रुपमा चुनाव जितेको इलामको विरासत जोगाउनकै लागि भएपनि सुहाङलाई उपनिर्वाचन मार्फत राजनीतिमा ल्याउनुपर्ने मत बलियो बन्दै गएको एक नेताले बताए ।

त्यसो त, नेपालको राजनीतिमा श्रीमानको मृत्यु भएपछि वा परिवारका एक सदस्यको मृत्यु भएपछि भएको उपनिर्वाचनमा प्रायजसो परिवारकै सदस्यहरुलाई उम्मेदवार बन्दै आएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि गत मंसिरमा सम्पन्न प्रतिनिसिध सभा सदस्यमा
कास्कीबाट निर्वाचित विद्या भट्टराईसम्मका हकमा उक्त नियम लागू भईसकेकोखछ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय जीप दुर्घटना मृत्यु भएपछि विद्यादेवी भण्डारी २०५० सालमा भएको उपनिर्वाचनबाटै एमालेको राजनीतिमा थप सक्रिय भएकी थिईन् । उनी कालन्तारमा नेपालकै पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन् ।

विद्यादेवी भण्डारी मात्रै होइनन् श्रीमानको निधन भएपछि वा परिवारका एक सदस्यको मृत्युपछि भएका उपनिर्वाचनबाट सक्रिय राजनीतिमा लाग्ने नेताहरु उल्लेख्य रहेका छन् । २०७५ सालको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा एमालेले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचनमार्फत सक्रिय राजनीतिमा लागेकी भट्टराई हालपनि प्रतिनिधि सभा सदस्य नै रहेकी छन् ।

त्यस्तै २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि दाङबाट निर्वाचित भएका एमाले नेता उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विमला केसीलाई एमालेले उम्मेदवार बनाएको थियो । २०७० सालको संविधान सभा निर्वाचनमा वाग्लुङबाट निर्वाचित कांग्रेस सांसद हरि खड्काको सडक दुर्घटनामा परि निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले पनि उनकै पत्नी चम्पा खड्कालाई उम्मेदवार बनाएको थियो ।

उपनिर्वाचनमा परिवारकै सदस्यलाई उम्मेदवार बनाउने एमालेको नीति विद्यादेवी भण्डारीमा लागू भइसकेको छ । सुहाङ नेम्वाङसमेतका हकमा लागू एमालेको उक्त नीति लागू हुने नहुने भने समयलेनै देखाउनेछ ।

Related News :

सुवास नेम्वाङको उत्तराधिकारीको रुपमा कान्छो छोरा सुहाङलाई अघि बढाउने एमालेको तयारी



प्रतिक्रिया दिनुहोस्

Screenshot