संविधान दिवसको दिन जसपाले भन्यो, ‘संविधान संशोधन अपरिहार्य छ’


काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ । संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

जसपाले मुलुकमा पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माण गर्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘पूर्णसमानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको व्यवस्था, शक्तिशाली जनलोकपाल गठन गरी भ्रष्टाचार अन्त्य, न्याय प्रणालीलाई संघीय स्वरुपमा पुनर्संरचना गर्ने, नागरिकतामा विद्यमान लैङ्गिक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीय गणतन्त्र नेपालका सबै अङ्ग, तह र निकायहरुमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू हुनुपर्ने, राज्यले प्रयोग गर्ने भाषालाई संविधानमा सूचिकृत गरिनुपर्ने र सबै भाषाहरुको संरक्षण र विकास गर्ने दायित्व राज्यको हुनुपर्ने लगायत पार्टीले संविधान जारी हुनु अगावैदेखि उठाउँदै आएका यावत माग र मुद्दाप्रति जसपा, नेपाल प्रतिवद्ध रहेको र संविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा दृढ छ,’– उनले भनेका छन् ।

नेपाली जनताको पटक–पटकको सङ्घर्ष, त्याग, बलिदानको परिणामस्वरुप मुलुकमा एकात्मक केन्द्रीकृत एवम् निरङ्कुश राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको स्थापना भएको र सार्वभौमसत्ता सम्पन्न नेपाली जनताद्वारा संविधान सभाबाट संविधान निर्माण गर्नका लागि दुई पटकसम्म संविधान सभाको निर्वाचन भएको स्मरण गर्दै जसपाले संविधानले नेपाली जनताले आपेक्षा गरेको हक अधिकारलाई सम्बोधन गर्न नसकेको बताएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ (१) र १३८ (१ क), संविधान सभाको नियमावली २०७०, उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, पहिलो संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको सहमति, ऐतिहासिक मधेस जनविद्रोहको समयमा भएको २२ बुँदे र ८ बुँदे सम्झौता लगायत विभिन्न समयमा आदिवासी जनजाति, खस र सरकारबीच भएका सम्झौता, सहमति, समझदारीसमेत उल्लङ्घन गरी अन्तरिम संविधानमा प्राप्त जनताका अधिकार समेतलाई खोस्ने कार्य भएको जसपाले जनाएको छ । अहिलेको संविधानले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कार्य गरिएको समेत जसपाको निष्कर्ष रहेको छ ।