एकीकृत समाजवादीको युवा पुस्ता नेतृत्वका लागि तयार, नेपाल–खनालको विकल्प ‘ग्रेसफूल एक्जिट’


काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको मिति सार्वजनिक भइसकेको छ । नेकपा (एमाले) सँगको विद्रोहबाट जन्मिएको नेकपा (एस) का लागि महाधिवेशन चुनौतिको रुपमा खडा भएको छ ।

गत मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचनमा थ्रेसहोल्ड पनि कटाउन नसक्दा राष्ट्रिय दलको मान्यतासमेत पाउन नसकेको नेकपा (एस) मा आगामी महाविधेशनले कस्तो नेतृत्व चयन गर्ला भन्ने जनचासो छ । एमालेमा झण्डै डेढ दशक महासचिवको भूमिका निर्वाह गरेका माधव नेपालले समाजवादीलाई भने सही बाटो निर्देश गर्न सकेनन् । जसको कारण विद्रोहमार्फत एमालेबाट बाहिरिएका नेताहरु पनि पुरानै घर फर्कने क्रम जारी छ । विद्रोहको औचित्य पुष्टि हुन नसकेको पुरानै घर फर्किएका नेताहरुले बताउँदै आएका छन् ।

गत भदौ ५ देखि ७ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति निर्धारण गरेसँगै आगामी नेतृत्वको आँकलन सुरु हुन थालिसकेको छ । आगामी १०औं महाविधेशनबाट पनि अध्यक्ष नेपाल आफैं नेतृत्व लिन चाहन्छन् । त्यस्तै, नेतृत्वको अर्का आकांक्षी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि हुन् । उनी एक पटक अध्यक्ष बनेर पार्टी हाँक्ने मनस्थितिमा छन् । यद्यपि नेपाल–खनालबीच अहिलेदेखि नै टकरावपूर्ण अवस्था सिर्जना भइसकेको छ ।

पछिल्लो आम निर्वाचनमा निर्वाचन आयोगमा अध्यावधिक भएको विवरण अनुसार अध्यक्ष नेपालको अहिलेको उमेर ६९ वर्ष हो भने सम्मानित नेता खनालको उमेर ७२ वर्ष हो । पार्टीको महाविधेशनमा यी दुई नेताले अध्यक्षका लागि प्रतिष्पर्धा गर्ने धेरैको आँकलन  छ ।

एकीकृत समाजवादीमा युवा पुस्ताभन्दा बयोवृद्धहरुको बर्चस्व बढि छ । पार्टी सचिवसमेत रहेकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय समितिमा ४० वर्ष मुनिका युवाहरुको प्रतिनिधित्व १ प्रतिशत पनि नरहेको बताउँछिन् । झाँक्रीका अनुसार साढे तीन सय संख्या रहेको केन्द्रीय समितिमा गत केन्द्रीय समितिको बैठकले मनोनित गरेको १ जनासहित ४ जनामात्रै ४० वर्ष मुनिका युवाहरुको प्रतिनिधित्व छ ।

आफूहरुले चाहेर पनि अहिले नेतृत्वमा युवा पुस्ता ल्याउन सकिने अवस्था नरहेको झाँक्री बताउँछिन् । सरकारी कर्मचारीहरुको रिटायर्डको उमेर हेर्ने हो भने हाल ५७ वर्ष कायम रहेको छ । सरकारी कर्मचारीहरुको अनिवार्य अवकाशको उमेरसँग तुलना गर्ने हो भने नेकपा (एस) को केन्द्रीय समिति अहिले रिटायर्डहरुको झुण्ड बनेको छ ।

झाँक्रीले बताएअनुसार अहिले ७५ प्रतिशतभन्दा बढि केन्द्रीय समितिमा रिटायर्डहरुको प्रतिनिधित्व रहेको छ । महाधिवेशनमा तीनै केन्द्रीय समितिका सदस्यहरु प्रतिनिधि हुने भएकाले युवा पुस्ताले नेतृत्व नपाउने निश्चित छ ।

एकीकृत समाजवादीमा साढे तीन सयको मात्रामा रहेका केन्द्रीय समतिको ७५ प्रतिशतभन्दा बढि सदस्य, प्रदेशका प्रमुख, इन्चार्ज, जनसंगठनका इन्चार्ज, जनवर्गीय संगठनका इन्चार्जदेखि फाँटका इन्चार्जसम्म ६० वर्ष उमेर पार गरेका नेताहरुले हाँकी रहेका छन् ।

२०३९ सालदेखि २०५७ सालसम्म पार्टीमा सक्रिय भएका र त्यसपछि निष्कृय भएका नेताहरु अहिले समाजवादीको नेतृत्वमा रहेका छन् । लामो समय निष्कृय रहेर उनीहरु एकैचोटी २०७८ सालदेखि राजनीतिमा सकृयता देखाएका हुन् । उनीहरुले पुरानै परिपाटीले पार्टी हाँक्न खोज्दा पनि गत आम निर्वाचनमा पार्टीले थ्रेसहोल्ड कटाउन नसकेको धेरैको आँकलन छ ।

‘साढे तीन सय/चार सय जनाको केन्द्रीय कमिटी ७५ प्रतिशतभन्दा धेरै ६० वर्षभन्दा माथिका छन् । त्यही मान्छेहरु स्वतः प्रतिनिधि हो, करिब चार सय । अनि प्रदेशका प्रमुख, इन्चार्ज, जनसंगठनका इन्चर्ज, जनवर्गीय संगठनका इन्चार्जदेखि फाँटका इन्चार्जसम्म ६० वर्षमाथिका मान्छेहरु छन् भनेपनि उहाँहरुको उठबस, काम गराई त्यही नै छ ।’ उनले भनिन्, ‘जो २०३९ सालदेखि २०५७ सालसम्म पार्टीमा सक्रिय हुनुहुन्थ्यो, ०५७ देखि हुनुहुन्थेन, एकैचोटी ०७८ बाट भएका पनि धेरैजसो हुनुहुन्छ । त्यही भएर यो पंत्तिले नयाँ, फ्रेस लिडरसिप ल्याउँछ भन्नेमा म त्यति आशावादी छैन ।’

यता, सचिव झाँक्री लगायतका युवा पुस्ताहरु आगामी महाधिवेशनबाट युवा पुस्ताको नेतृत्व चाहन्छन् । उनीहरुले अहिले महासचिवको भूमिकामा रहेको घनश्याम भुसाललाई अध्यक्षमा अगाडि बढाउन चाहेका छन् । पार्टी नेतृत्वको जिम्मेवारीमा भुसाल पुगेको खण्डमा धेरै हदसम्म पार्टीलाई सुधार गरेर अगाडि बढ्न सकिने धेरैको बुझाई छ ।

राजनीतिमा पनि समाजले पुस्तान्तरण चाहेको बताउँदै झाँक्री भन्छिन्, ‘घनश्याम भुसाल अध्यक्ष हुँदा राम्रै हुन्छ । तर, हुने तयारी, अवस्था र परिस्थिति चाहिँ छ कि छैन अलग कुरा हो । हुँदा राम्रो हुन्छ । पुस्तान्तरण भयो, नयाँमा गयो । समाजले खोजेको परिवर्तनमा पनि सम्बोधन भयो ।’
अध्यक्ष नेपाल र सम्मानित नेता खनालको पार्टीमा लामो इतिहास र योगदान रहेको झाँक्री बताउँछिन । नेपाल–खनाललाई बलपूर्वक विस्थापन गराउन कुनै नेताहरुले पनि नचाएको झाँक्रीको भनाई छ । यस्तो अवस्थामा नेपाल–खनालले ‘ग्रेसफूल एक्जिट’ रोज्नुपर्ने झाँक्रीको भनाई छ । ‘ग्रेसफूल एक्जिट’ को वातावरण निर्माणका लागि युवा पुस्ता तयार हुन आवश्यक रहेको उनले बताईन् ।