एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ


काठमाडौं,७ असोज । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए ।

नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टीमसँगै नगएका हुन् ।

चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्। औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गतेदेखि नै चलिरहेको छ।

जसअन्तर्गत समूह चरणका दुवै खेल हारेपछि नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन्।