झलनाथलाई कार्यक्रममा बोलाउँदानै माधव नेपालको टाउको दुखिसक्योः केपी ओली


काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले झलनाथ खनाललाई कार्यक्रममा बोलाउँदा नै मावध नेपालको टाउको दुखेको टिप्पणी गरेका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेको कार्यक्रममा झलनाथलाई बोलाउँदा नेकपा (एकीकृत समाजवादी) मा पहिरो गएको टिप्पणी गरेका हुन् ।

‘त्यो पार्टीमा कति एकता छ भन्ने नेताहरुको सार्वजनिक अभिव्यक्तिबाट सबैले बुझेकै छन् । मैले ‘संविधान र सुवास’ कार्यक्रममा झलनाथ खनाललाई बोलाउँदा माधव नेपाललाई टाउको दुखिसक्यो ।’ ओलीले भने,‘झलनाथलाई सुवासचन्द्र नेम्वाङकै इलाम जिल्लाको, सहपाठी र एउटै पार्टीमा लामो समय काम गरेको हुनाले बोलाएँ । माधव नेपालले चिन्नेभन्दा अघि बालसखाको रुपमा चिनेको नेता हो झलनाथ । माधव नेपाललाई सुवास नेम्वाङ के थाहा छ र ?’

वामदेव गौतम र भीम रावललाई पार्टीमा जिम्मेवारी दिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘जो काम गर्छ, उसलाई एमालेले यथोचित् जिम्मेवारी दिन्छ । तर पानी मथेर घिउ लाग्दैन । अब समुद्र मन्थन गरिरहनुपर्दैन । अनावश्यक चर्चामा समय खर्च नगरौं ।’