नागरिक उन्मुक्तिमा परिवारवाद हाबी, रेशमले लिए कार्यकारिणी अधिकार


काठमाडौं, १५ असोज । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सम्पूर्ण कार्यकारिणी अधिकार रेशम चौधरीलाई दिने निर्णय गरेको छ । पार्टीको संरक्षक रहेका रेशमलाई पार्टीका हालै सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन नहुँदासम्मका लागि कार्यकारिणी अधिकार प्रत्यायोजन गरेको हो ।

नाउपाको अध्यक्ष रञ्जिता चौधरी रहेकी छिन् । उनी नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । रञ्जिता रेशमकी श्रीमती हुन् । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएर सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका रेशमलाई रञ्जिताले सरकारलाई दवाब दिएर आममाफी गराएकी थिईन् ।

रेशमलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । त्यसैगरी, संघीय संसद् सदस्य लालवीर चौधरी पनि रेशमका बाबु हुन् । यसरी महत्वपूर्ण पद र पार्टीको जिम्मेवारीमा रेशमको परिवार हाबी भएको छ ।

नाउपाको प्रथम महाधिवेशन आगमी पुष २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने निर्णय भएको छ । नाउपामा परिवारवाद हाबी भएको भन्दै केही प्रभावशाली नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । साथै, संगठन विभागको भूमिका रहेका सुरेन्द्र चौधरीले पनि परिवारवाद हाबी भएको भन्दै पार्टी परित्याग गरेका थिए ।