सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित


काठमाडौं,२५ असोज । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

अदालतका ३० फाँटमध्ये आज २१ वटा फाँटमात्रै इजलास बस्ने छ। ९ जना न्यायाधीश अनुपस्थित रहेकाले ती फाँटहरूमा इजलास बस्ने छैन। ६ जना न्यायाधीश सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको कारण उनको मुद्दाको पेशी स्थगित भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । फाँट नम्बर २८ मा रहेका अन्य सबै मुद्दा पनि स्थगितको सूचीमा परेको छ ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।