राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छन्ः प्रदेश सभामुख पाठक


काठमाडौँ, २७ असोज । बागमती प्रदेशसभा सभामुख भूवनकुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताएका छन् ।

“अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन, कोही मान्छे ‘परफेक्ट’ हुँदैन, हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौँ, महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ, सानादेखि ठूला नेताहरुको भनाइ र गराइबाट थाहा हुन्छ ।” उनले भने

जागरण मिडिया सेन्टर र युएनडिपीको सहयोगमा संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले बागमती प्रदेश तथा सङ्घीयसभा सदस्यमा अध्ययनको कमी रहेको बताए । 

“हामीले समसायिमक वस्तुस्थिति, समसायिमक विषयमा प्रस्तुत गर्नुभन्दा अगाडि अध्ययन गर्ने चलनको कमी छ” । उनले भने “हामीले लेखन गरी भाषण गर्ने बानीको विकास गर्न जरुरी छ, अहिले अध्ययनका लागि गुगलमा सबै विषयको कुरा पाइन्छ, तर त्यसको खोजी गरी अध्ययन गर्नुपर्ने हुन्छ ।” 

उनले अभ्यास, अध्ययन र मेहनतको अभाव रहेको उल्लेख गर्दै हामीले सिक्नुपर्ने र अध्ययन गर्ने कुरा धेरै रहेका बताए । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले भने, “रुकुमपश्चिममा छ जनाको अन्तरजातीय विवाहको निहुँमा हत्या भयो, रुपन्देहीमा अङ्गीरा पासीलाई झुण्ड्याएर हत्या भयो, तर संसद्मा केही मुद्दा उठेन ।”

बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं खत्रीले सीमान्तकृत समुदायका महिला दिदीबहिनीको क्षमता विकासका कार्यक्रम प्रभावकारी हुने बताईन् । उनले महिलालाई केन्द्रबिन्दु बनाई गर्ने क्रममा प्रदेशसभाको सहयोग रहने बताईन् ।

संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले बागमती प्रदेशसभाको संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन प्रस्तुतीकरणलाई व्यवस्थित गर्न खाँचो रहेको बताईन् । उनले आफ्नो कुरा सुनुवाइ गर्न सञ्चारकलालाई प्रभावकारी बनाउनुपर्ने बताईन् ।

कार्यक्रममा बागमती प्रदेशसभाका महिला तथा सीमान्तकृत समुदायका प्रदेशसभा सदस्यको सहभागिता थियो । कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठले प्रभावकारी प्रस्तुतीकरणसम्बन्धी प्रस्तुति राखेका थिए ।