काठमाडौँ, ३० असोज । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सद्भाव अभिवृद्धिको पर्वका रुपमा मनाइनुपर्नेमा जोड दिएका छन् ।
बडादसैँ, शुभदीपावली, नेपाल सम्वत् छठलगायत चाडपर्वको अवसरमा नेपाल पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्ष झाले नेपालमा मनाइने सबै चाडपर्वको समान सांस्कृतिक महत्व रहेकाले कुनैपनि चाडपर्वलाई भेद्भाव गर्न नहुने उल्लेख गरे ।
“दसैँ महत्वपूर्ण पर्व हो, चाडपर्वले कसैलाई पनि विभेद् गर्दैन तर, हामी आफैले विभेद गर्छौ, दसैँको तुलनामा अन्य चाडपर्वलाई कम महत्व दिएका हुन्छौँ”, उनले भने, “सांस्कृतिक पर्वमा हामी खुसी खोज्ने प्रयास गछौँ । साथै पारिवारिक मिलन र आपसी भाइचार अभिवृद्धिमा पनि चाडपर्वले भूमिका खेलेका हुन्छन् ।”
दसैँलगायतका चाडपर्वले नेपालीलाई एकता, सामाजिक सद्भाव र आपसी भाइचारा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पत्रकारलाई दसैँलगायतका चाडपर्वमा अझ बढी व्यावसायिक जिम्मेवारी हुने भन्दै उनले चाडपर्वमा पेसागत दायित्वलाई पनि सँगै निर्वाह गर्न आग्रह गरे ।
“चाडपर्वका बेला राससको सान्दर्भिकता र जिम्मेवारी बढी हुन्छ”, कार्यकारी अध्यक्ष झाले भने, “आम नेपाली जनतालाई सूसुचित गर्ने मूल दायित्व लिएको राससले आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै जहाँ जसरी रहे पनि पेसागत दायित्व बहन गर्नुपर्छ ।”
सो अवसरमा राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले दसैँलगायतका सांस्कृतिक पर्वहरुले आपसी विश्वास, मित्रता र भाइचार कायम गर्न सहयोग पुग्ने बताए ।
नेपाल पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले कार्यक्रमले दसैँलगायत चाडपर्वका अवसरमा आपसी हार्दिकता कायम गर्न र विगतका तिक्तता र कर्मीकमजारीलाई सच्याएर पेसागत दायित्व बहन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
रासस कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले चार्डपर्वले आपसी सद्भाव बढाउन र पत्रकार र कर्मचारीबीचको मैतीपूर्णसम्बन्ध कायम गर्न सहयोग पुग्ने बताए । रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले पेसागत विषयमा पत्रकार र कर्मचारी एकताबद्ध भई संस्थाको श्रीवृद्धिमा लाग्नुपर्ने खाँचो औंँल्याइन् ।
रासस कर्मचारी सङ्घका महासचिव सिबी अधिकारीले दसैँलगायतका चाडपर्वले एकआपसमा भावनात्मक एकता र पेसागत दक्षता अभिवृद्धिमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सहभागीबीच आपसी सद्भाव, एकता र शुखशान्ति एवं सुस्वास्थ्य र दिर्घायुको कामनासहित शुभकामना आदनप्रदान गरियो । रासस/File photo




प्रतिक्रिया