Logo

व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिने प्रधानमन्त्री प्रचण्डको उद्घोष (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिने बताएका छन् । नेपाली कांग्रेसको चियापान कार्यक्रममा सरिक भएका प्रधानमन्त्री दाहालले मिडियाकर्मीहरुसँगको संक्षिप्त साक्षात्कारमा यस्तो बताएका हुन् । उनले आफूले प्रश्न उठाउनेहरुलाई चूनौतिको रुपमा नलिएको पनि स्पष्ट पारे ।

उनले दलहरुमाथि प्रश्न उठेको भन्दापनि उठाउने कोशिस भैरहेको टिप्पणी गरे । उनले भने,‘अहिले हामीमाथि प्रश्न उठाउने कोशिस भएको छ । प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिने काम भैरहेको छ । हामी छिट्टै जवाफ दिन्छौं ।’

उनले दलहरुको चियापानको संस्कृतिको प्रशंसा गर्दै यस्ताखाले चियापानले दलहरुबीच आपसी सद्भाव र एकता कायम गर्ने विश्वास दिलाए । उनले भने,‘यो चियापान भनेको दलहरुबीच आपसी सद्भाव कायम गर्ने संस्कृति हो । आपसी एकता अभिवृद्धि गर्न पनि यसले मद्धत गर्दछ । राष्ट्रिय राजनीतिलाई स्थिरता दिनको लागि सहमति र एकतासँगै समझदारीमा लैजाने काम गर्दछ ।’

उनले शान्ति प्रक्रियाका बाँकी रहेका कार्यभार पनि छिट्टै पूरा गर्ने विश्वास दिलाए । उनले भने,‘शान्ति प्रक्रिया टुँगो लगाउनेबारे विस्तारै समझदारी बन्दै जान्छ । हिजो मेरो प्रमुख प्रतिपक्षी दलका नेतासँगको भेट पनि त्यसैको कडी हो ।’

उनले आफूले हालै गरेका अन्तर्राष्ट्रिय भ्रमणमा पनि शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा गम्भीरताका साथ कुरा उठाएको सुनाए । यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव आज नेपाल आउन लागेको सो भ्रमणमा पनि यो विषयमा छलफल हुने उनको भनाई छ । उनले भने,‘युएनका महासचिव आउँदै हुनुहुन्छ । उहाँसँग जलवायु परिवर्तन, शान्ति प्रक्रिया, आर्थिक विकासाबरे छलफल हुन्छ । उहाँ फर्किएपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot