दुर्गा प्रसाईंलाई कारबाही गर्न एमाले सांसद ज्ञवालीको माग


काठमाडौं,१६ कार्तिक । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेकी नेतृ शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

बिहीबार बसेको संघीय संसदको बैठकमा बोल्दै ज्ञवालीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भनेर भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘मुलुकमा जात, जातिको नाममा, धर्मको नाममा वा अन्य अराजक गतिविधि गरि यो व्यवस्थालाई कमजोर गर्ने काममा ज्यान फालेर अराजक तत्व लागिरहेका छन्। यतिखेर दुर्गा प्रसाईँ जस्ता अराजक भिडले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन्। सुशासन र विकासमा सबैभन्दा योग्य सावित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो। यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्वलाई सरकारले कारबाहीको दायरामा ल्याउनका निम्ति सम्माननीय सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

पूर्व एमाले नेता रहेका प्रसाईं हाल राजतन्त्र पक्षधर आन्दोलनमा सक्रिय रहेका छन् । राजतन्त्र पक्षधर गतिविधि गरेपछि एमालेबाट निष्कासीत भएका उनले पछिल्लो समय एमालेविरुद्ध युटयुबरको प्रयोग गरेर कपोकल्पित र भ्रामक कुरा राख्दै आएका छन् ।

Skip This

Omoda E5 Pro