राजा, राजनीतिक दल र जनताबीच नयाँ समझदारी नबनाईए देशको भविष्य सुनिश्चित् छैन् : रवीन्द्र मिश्र


काठमाडौं, २२ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह, राजनीतिक दल र जनताबीच नयाँ समझदारी बनाउनुपर्नेमा जोड दिएका छन् । हिजो (मंगलबार) १२ बुँदे पक्षधरहरुको बैठक बसेपछि नेता मिश्रले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत १२ बुँदेहरुले अहिलेका सबै समस्याको दोष राजावादीहरुलाई दिएको भन्दै त्यसको आक्रोशमा यस्तो व्यंग्यात्मक रुपमा टिप्पणी गरेका छन् । उनले राजा, राजनीतिक दल र जनताबीच अहिलेको संक्रमणकालिन अवस्थामा नयाँ समझदारी नबनाईए देश र जनता कसैको पनि भविष्य सुनिश्चित् नरहेको जिकिर गरेका छन् । उनले लेखेका छन्-

‘१२ बुँदे’हरूले ‘एक बुँदे’सँग भिड्न
तयारी सुरू गरेछन् (मन परे श्यर पनि गरिदिनोस् है), किनभने:
१। व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे — राजसंस्थावादीले गर्दा।
२। देशभर ५०% शटर बन्द छ — राजसंस्थावादीले गर्दा।
३। ठूला व्यापारी ठूलो संकटमा छन् — राजसंस्थावादीले गर्दा।
४। अर्थतन्त्रमा ऋणभार झण्डै ४५% भयो — राजसंस्थावादीले गर्दा।
५। गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउनसक्छ — राजसंस्थावादीले गर्दा।
६। विकास खर्च १७% मा झर्यो — राजसंस्थावादीले गर्दा।
७। प्राध्यापक, कर्मचारी, वकिल देखि सबैको दलीय संगठन बन्यो — राजसंस्थावादीले गर्दा।
८। सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो — राजसंस्थावादीले गर्दा।
९। सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो — राजसंस्थावादीले गर्दा।
१०। देश संसारकै भ्रष्टमध्येको भयो — राजसंस्थावादीले गर्दा।
११। नेपाल एसियाकै गरिब देश भयो — राजसंस्थावादीले गर्दा।
१२। ललितानिवास, शरणार्थी, सुन लगायत अन्य सयौँ काण्ड भयो — राजसंस्थावादीले गर्दा।
१३। जातीय र धार्मिक हिंसाको संभावना बढ्यो — राजसंस्थावादीले गर्दा।
१४। वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् — राजसंस्थावादीले गर्दा।
१५। छिमेकीले तिब्र विकास गरे, हामीले सकेनौँ — राजसंस्थावादीले गर्दा।
१६। कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचना-प्रविधि, केही पनि नीति जानेनौँ — राजसंस्थावादीले गर्दा।
१७। समग्र समाजको नराम्रो नैतिक पतन भयो — राजसंस्थावादीले गर्दा।
१८। मान्छे मरेका छन्, खान/सुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्र/धर्म निरपेक्षता जोगाउने चिन्ता छ — राजसंस्थावादीले गर्दा।
१९। मधेस प्रदेश केन्द्र विरूद्ध विद्रोह गर्ने भन्छ — राजसंस्थावादीले गर्दा।
२०। विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् — राजसंस्थावादीले गर्दा।
२१। राजसंस्थाको ‘भूत’ले धेरै नै तर्सायो — राजसंस्थावादीले गर्दा।
२२। नयाँ/पुराना सबै ‘प्रचण्डपथगामी’हरूको राजनीतिमा प्रश्न उठ्यो — राजसंस्थावादीले गर्दा।
२३। ‘राष्ट्र र राज्य’का रूपमा नेपालको तिब्र क्षयीकरण भयो — राजसंस्थावादीले गर्दा।
२४। एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो — राजसंस्थावादीले गर्दा। (थप्दै जानुहोस्)
२५। मेरो टिप्पणी: विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस्! #विचारभन्दामाथिदेश, #NationAboveNotion