काठमाडौं, १ कात्तिक । मोरङको उर्लाबारीमा आगलागीमा परी घाईते भएको २५ जनामध्ये ६ जनाको अवस्था क्रिटिकल रहेको अस्पतालले जनाएको छ । आज (शुक्रबार) युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु घाईतेहरुको अवस्था बुझ्न कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका थिए । मन्त्री लिम्बुलाई उपचारमा खटिएको चिकित्सकहरुले विरामीको अवस्था जानकारी गराएका थिए ।
जलनका विरामीहरुको अवस्था गम्भीरनै रहने भएपछि ६ जनाको अवस्था एकदमै नाजुक रहेको चिकित्सकहरुले बताए । विरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका मन्त्री लिम्बुले सरकारले घाईतेहरुको उपचारमा कुनै कसुर बाँकी नराखेर जीवन रक्षाका लागि सक्दो सहयोग गर्ने बताए ।
मन्त्री लिम्बुले घाईतेहरुको उपचारका लागि अमेरिकाबाट चिकित्सकहरुको टोली मगाइएको समेत बताए । अमेरिकाबाट चिकित्सकहरुको टोली आईतबारसम्म आइपुग्ने उनको भनाई छ ।
गत कात्तिक २६ गते मोरङको उर्लावारीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाईते भएका थिए । घाईते २७ जनामध्ये २५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनीहरुको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । File Photo/RN




प्रतिक्रिया