प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिरहेको छः माधव सापकोटा (भिडिओसहित)


काठमाडौं, १४ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नेपालको समृद्धिको मुख्य बाधक दलाल नोकरशाही पुँजीवाद भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलाल नोकरशाही पुँजीवादले आत्मनिर्भर अर्थतन्त्रलाई अगाडि बढ्न नदिएको दाबी गरेका हुन् । दलाल नोकरशाही पुँजीवादले नै भ्रष्टाचारलाई संस्थागत गरेको उनको दाबी छ । भ्रष्टाचारको जालो नच्याती समृद्धिको कुरा गर्नु गफमात्रै हुने उनले बताए ।

‘दलाल नोकरशाही तन्त्र समृद्धिको बाधक हो । दलाल हुनेवित्तिकै त्यसले भ्रष्टाचारलाई संस्थागत गर्छ । भ्रष्टाचारको जालो नच्याती समृद्धिको कुरा गर्नु फगत गफ हुन्छ,’– उनले भने ।

नेपाल राष्ट्रको समृद्धिका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाएको उनको दाबी छ । उनले प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिरहेको बताए ।

‘भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा प्रधानमन्त्रीले अभियान थालिराख्नु भएको छ, जारी राख्नु भएको छ । हामी साँच्चैनै समाजवादको आधार सिर्जना गर्नका लागि आर्थिक समृद्धि हुँदै जानुपर्ने हुन्छ । आर्थिक समृद्धि हासिल गर्ने हो भने दलालतन्त्रको अन्त्य गर्ने र सुशासन कायम गर्ने या भ्रष्टाचारलाई अन्त्य गर्ने या न्यूनीकरण गर्ने त्यो नै महत्वपूर्ण कुरा हो । त्यसैले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आजको दिनमा सुशासनको पक्षमा दृढतापूर्वक काम गरिराखेको छ,’– उनले भने ।

साथै, अन्तराष्ट्रिय शक्तिहरुलाई विश्वासमा लिने काम प्रचण्ड नेतृत्वको सरकारले गरेको उनको दाबी छ । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने कुरा र संसारभरको जल्दोबल्दो मुद्दा जलवायु परिवर्तबारेमा प्रधानमन्त्री प्रचण्डले माग्ने होईन अधिकार स्थापित गराउने भनेर अगागि बढिरहेको उनले बताए ।