Logo

सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी



काठमाडौं,१८ मंसिर । मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।

गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिना हुँदासम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना खेपिरहेका चौधरीले २ ३ दिनभित्र नै बाँकी मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद्मा हाल ३ मन्त्रालय मन्त्रीविहीन रहेको छ । ८ महिनादेख मन्त्रीविहीन रहेका खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय
वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त हुने भएका हुन् ।

मन्त्रीविहीन तीन मन्त्रालयमा अब कांग्रेसले २ र माओवादीले एक मन्त्रालय थप पाउने छन् । तर, माओवादी केन्द्रले भने पूर्व सहमतिअनुसार थप २ मन्त्रालय आफूले पाउनुपर्ने भन्दै दवाव दिँदै आएको छ ।

माओवादी केन्द्रले गत असारमा नै रोल्पाका दीपेन्द्र पुन र बाँकेका कृष्णा केसीलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेको थियो । तर, माओवादीले सिफारिस गरेका रोल्पाका दीपेन्द्रलाई मन्त्री बनाउन नहुने कांग्रेसको अडान छ ।

गत निर्वाचनमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुनविरुद्ध बागी उठेर जितेका दीपेन्द्र मन्त्री बन्ने सहमतिसहित माओवादीमा प्रवेश गरेका थिए । उनलाई मन्त्री बनाउन माओवादीको केन्द्रीय नेतृत्वले समेत दवाव दिएपछि मुख्यमन्त्री चौधरी आफै अफ्ठ्यारोमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्