ओली र रविलाई विश्वप्रकाशको सुझाव – ०८४ को चुनावको त्यतिबेला नै चिन्ता गरौंला, अहिलेलाई ०८० को चिन्ता गरौं


काठमाडौं,१८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन ८४ भन्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको प्रचारप्रति आपत्ति जनाएका छन् ।

सोमबार नेपाली कांग्रेस अछामले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई मिसन ८४ भनेको के हो ? भन्दै प्रतिप्रश्नसमेत गरेका छन् ।

महामन्त्री शर्माले चुनाव २००७ साल पछाडिदेखिनै हुन लागेको र अब पनि हुने भन्दै अनावश्यकरुपमा प्रचार जरुरी नभएको दाबी गरे । उनले २००७ सालमा नै नेपाली कांग्रेसले राणा शासन फ्याँक्नका लागि क्रान्ति गरेको स्मरण गराउँदै मिसन ८४ को नाम दिएर क्रान्तिकारी काम गरेजस्तो जनतामा भ्रम नछर्न अन्य दलहरुलाई आग्रहसमेत गरेका छन् ।

‘बडेबडे झापालीको मूल लक्ष्य मिसन ८४ भन्नुभएको छ, । एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो ? के कांग्रेसले २००७ सालमा राणाशासन ढालेर जनतालाई स्वतन्त्रता दिएकोजस्तै हो ? होइन।’महामन्त्री शर्माले भने ,

राजनीतिक दलले एकपछि अर्को चुनावको मात्र चिन्ता गरेकोमा जनताले प्रश्न गर्नुपर्ने शर्माले बताए। उनले कांग्रेस मिसन ८४ को घोषणामा नभएको पनि बताए।

‘०८४ को वैशाखतिर चुनाव घोषणा होला त्यतिबेला चिन्ता गरौंला,’ शर्माले भने, ‘तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौं। बाटो, बिजुली के-के गर्न बाँकी छ, काम गरौं। मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, ०८४ पछि खोज्नेर ?’

एमाले अध्यक्ष ओलीसहितका पदाधिकारीहरु आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमत दिलाउने भन्दै मिसन ८४ को नारा दिएर देश दौडाहामा लागेका छन् भने रास्वपा पनि पुराना दलहरुबाट देश उँभो नलाग्ने प्रचारसहित गाउँगाँउ पसिरहेको छ ।