एनआरएनएको सहकार्यमा नेपाली राजदूतावासद्वारा नागोयामा गरेको घुम्ती शिविर, ५९७ जना नेपालीले लिए सेवा


नागोया, (जापान) मंसिर २१ । जापानस्थित नेपाली राजदूतावासले आफ्नो सेवा प्रदान गर्ने उद्देश्यले नागोयामा गरेको घुम्ती शिविरमा ५९७ जना नेपालीले विभिन्न सेवा लिएका छन् । उक्त घुम्ती शिविरमा पासपोर्टसँग सम्बन्धित सेवा लिनेहरु अत्यधिक रहेका छन् ।

राजदूतावासले दिएको जानकारी अनुसार नागोयाको शिविरमा ५३१ जनाले पासपोर्टको सेवा लिएका छन् । जसमध्ये ४६६ जनाले पासपोर्ट नवीकरण गरेका छन् भने ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइएको छ । यसैगरी १० जनाले झुत्रा र खराब पासपोर्ट फालेर नयाँ बनाएका छन भने बाँकी ६६ जनाले अन्य सेवाहरु लिएको राजदूतावासले जनाएको छ ।

जापानको दोश्रो ठूलो शहर नागोयाको ‘नागोया कुक्साइ सेण्टर’ मा डिसेम्बर २ बाट शुरु भएको शिविर चारदिनसम्म सञ्चालन भएको थियो । शिविर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहकार्य र नागोया क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा सञ्चालन भएको हो ।

शिविरमा अपेक्षा गरिएभन्दा बढि नेपालीले नागोयाको घुम्ती सेवाबाट सेवा लिएको क्षेत्रीय समिति संयोजक भेषनाथ गौतमले जानकारी दिए । ‘हामीले ४०० को हाराहारीमा सेवाग्राहीहरु आउने अपेक्षा गरेको थियौँ, तर अपेक्षा भन्दा बढी भयो । राहदानीसहित विभिन्न समस्या लिएर आउने नेपालीलाई दूतावासको समन्वयमा सेवा दिएरै पठाइयो । कोहि पनि सेवाबाट वञ्चित भएनन् ।’-संयोजक गौतमले भने ।


घुम्ती शिविरबाट ९६ लाख ८७ हजार रुपैया राजश्व संकलन भएको छ ।
दूतावासले राहदानी नवीकरणको १८ हजार यन तोकेको छ । यसैगरी हराएको, च्यातिएको वा अन्य कारणले प्रयोग गर्न नसकिने राहदानीको ३६ हजार यन र दश वर्षभन्दा कम उमेरका बच्चाको राहदानी नवीकरणका लागि ९ हजार यन राजश्व लिने गरेको छ । जाापानमा जन्मेका बच्चाको पहिलो पटक राहदानी बनाउन १५ हजार राजश्व उठाउने गरिएको छ । उठाइएको सबै राजश्व सरकारको नाममा जम्मा हुनेछ।