रवि र सिके राउतलक्षित माओवादी नेताको कटाक्षः ‘एक्लाएक्लै वीर हुने परिकल्पनाले ढेडु भईन्छ’


काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले एउटा युवाले रोजगारी खोज्दा गोली खानुपर्ने अवस्थाले आफूलाई लाज लागेको बताएका छन् । साथै, उनले उक्त अवस्थाले नीति निर्माणमा पुगेका सबै दल र दलका नेतालाई अहिलेको अवस्था देख्दा लाज लाग्नुपर्ने बताएका छन् ।

‘एउटा युवा रोजगारी खोज्दा गोली खानुपर्ने अवस्थाले हामी नीतिनिर्माण तहमा पुगेका हरेक दल र दलका नेतालाई लाज लाग्नुपर्ने हो । मलाई साँच्चिकै लाज लागेको छ,’– नेता पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका छन् ।

साथै, उनले देशमा लासको राजनीति गर्ने र विपक्षीलाई बिनष्ट गरेर मात्रै आफ्नो दलको राजनीति चल्छ भन्ठान्ने संस्कृतिलाई समेत चुनौती दिएर उदाएको नयाँ दलले समेत फण्डामार्फत राजनीति गरेको टिप्पाणी गरेका छन् । उनले नयाँ भनिएका दल र दलका नेताहरुले फरक दल र विचारमा भएका र आमनागरिकको झिनो सद्भावसमेत नष्ट गर्ने गरी लासमा राजनीति गरेको टिप्पणी गरेका छन् ।

रोजगारीका खातिर लड्दा ज्यान गुमाएका युवाहरुको रगतलाई साक्षी राखेर नयाँ जेनेरेसनका युवाहरुका लागि बहसमा आउनसमेत नयाँ दललाई उनले आग्रह गरेका छन् । समस्या के कुरामा हो भनेर निर्क्यौल गर्नुपर्ने उनले आवस्यकता औंल्याएका छन् । साथै, उनले यही तरिकाले नयाँ नभइने समेत बताएका छन् । एक्लाएक्लै वीर हुने परिकल्पनामा अन्तिममा ढेडु भइने उनको टिप्पणी छ ।

‘यही तालले नयाँ भईँदैन । नयाँ हुन नयाँ गरेर भईन्छ । नयाँ गर्ने पूर्ण तयारीका साथ पोजिसनमा पुगेपछि नयाँ हुन्छ । एक्लाएक्लै वीर हुने परिकल्पनाले ढेडु भइन्छ,’– उनले भनेका छन् । File Photo/RN