‘आज मतभेदजन्य कुरा त गर्न मिलेन, विधिअनुसार सरकार चल्ने कुरामा मेलमिलाप गरौं’


काठमाडौं, १६ पुस । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र थितिअनुसार सरकार चलाउने कुरामा मेलमिलाप गर्न आग्रह गरेका छन् । आज (सोमबार) नेपाली कांग्रेसद्वारा आयोजित राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा मेलमिलाप गर्न आग्रह गरे ।

‘साँचैको मेलमिलाप गरौं । प्रतिस्पर्धाभित्र आधारभूत प्रश्नमा मेलमिलाप गरौं । लोकतान्त्रिक गणतन्त्रको रक्षामा, शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा मेलमिलाप गरौं ।’ उनले भने, ‘थिति र विधिअनुसार सरकार चल्ने कुरामा मेलमिलाप गरौं । आज मतभेदजन्य कुरा त गर्न मिलेन । त्यस कारण यस दिवसले हामीलाई यथार्थ मेलमिलापतर्फ अगाडि बढ्न प्रेरणा मिलोस् ।’

अरुलाई नहेप्ने र आफू पनि नहेपिने नीति अवलम्बन गरेर मेलमिलापको नीति अबलम्बन गर्न आवश्यक रहेको उनले बताए । साथै, नेपालको जमिन नेपालले फिर्ता पाउनु पर्ने उनले बताए । भारत नेपालको मित्र भएको दाबी गर्दै उनले मित्रसँग सरकारले कुरा गर्न सक्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले राष्ट्रियता, सुशासन, सामाजिक न्यायका विषयमा सहमति गर्न आवश्यक रहेको बताए । Photo By: Mukunda Kalikote/RN