काठमाडौं, २५ पुस । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले वर्तमान सरकारले भारतसँग गरेको सम्झौता सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा र भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भएका सम्झौताहरु सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री ज्यूले भारत भ्रमणका क्रममा सहमति भएको संसद्मा पनि आएर बताउनु भएको थियो । आजसम्म नेपाल सरकारले सम्माननीय प्रधानमन्त्री ज्यूले भारत भ्रमणका क्रममा गरेका सम्झौता के हुन् ? त्यो बारेमा आजसम्म हाम्रो संसद्ले जानकारी पाएको छ ? त्यो सम्झौता पढ्न पाउने अधिकार हाम्रो हो कि होईन ?’ उनले प्रश्न गरे ।
साथै, उनले भारतसँग भएका सम्झौता थाहा पाउने सबै नागरिकको अधिकार भएको बताउँदै तत्काल सार्वजनिक गर्न माग गरेका छन् । ‘भारतसँग भएका सम्झौता तत्काल उपलब्ध गराउनुपर्छ । यसमार्फत सिंगो जनतालाई जानकारी गराउनुपर्छ। प्रधानमन्त्री ज्यूले त्यो उपलब्ध गराउनुहुन्छ भन्ने विश्वास छ,’– बर्तौलाले भने ।
भारतीय पक्षसँग भएका सम्झौताहरु मौखिक जानकारीबाहेक आफूहरुले थाहा नपाएको र संसदीय समितिका सभापतिले रुलिङ गरेर उक्त सम्झौता माग गर्दासमेत सरकारले सार्वजनिक नगरेको उनले बताए ।




प्रतिक्रिया