सरकारको भेट्नो कुहिसकेको एमालेको निश्कर्ष, उपमहासचिव ज्ञवाली भन्छन्, ‘जतिखेर पनि ढालिदिन सक्छौं’ (भिडिओसहित)


काठमाडौं, १० माघ । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारलाई जनताको समर्थन रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार जनताका लागि बोझ भइरहेको बताए । वर्तमान सरकार बोझ भयो भनेर आफूहरुले प्रतिपक्ष भएरमात्रै आरोप नलगाएको उनको स्पष्टोक्ति छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको रक्षा अब गर्न नसकिने बताउँदै आएका र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पार्टी माओवादी केन्द्रका नेताहरुले आफूहरुको पहिचाननै सकिएको गुनासो गर्न थालेको उनले बताए । एउटा फल र रुखको उद्धाहरण दिँदै उनले भेट्ने कुहिएपछि रुखबाट फल आफैं झर्ने बताए । वर्तमान सरकारलाई जनताको समर्थन नरहेको र अब सरकार आफैं भेट्नो चुँडिएर झर्ने उनको टिप्पणी छ ।

‘देशका लागि सरकार बोझ भइसक्यो । तर, सरकार बदल्ने भनेको त अंक गणितले हो । एक सय ३८ त ठाउका गन्न पर्यो । एमालेसँग आजका मितिमा ७९ वटा टाउका छन् । अहिले तुरुन्ताको तुरुन्तै सरकार परिवर्तन भइहाल्छ भन्ने चाहीँ होईन । तर, हामीले परिवर्तन गरेपनि नगरेपनि कुनै चिज, आँप, कटर भेट्ना कुहिँदै गयो भने आफैं झर्छ । सरकारको भेट्ना भनेको जनताको निरन्तर समर्थन हो ।’ उनले भने, ‘सरकारलाई तपाईले कुनै एउटा फल मान्नुहुन्छ भने त्यो के–को जगमा उभिएको छ त ? उसको वैद्यता भनेको जनताको स्वतस्फूर्त समर्थन हो ।’

अहिले एमालेले सत्ता गठबन्धन बिगार्ने, भत्काउने र नयाँ समीकरणको सरकार बनाउने चक्करमा नरहे पनि एमालेले चाहेको दिन सरकार ढाल्न सक्ने उनको दाबी छ । जनताले वर्तमान सरकारलाई समर्थन नगरेको खण्डमा वैकल्पिक सरकार दिनु प्रमुख प्रतिपक्ष दलको धर्म रहेको उनले बताए । उनले यो सरकारले ठीक गर्यो, यो सरकार ठीक छ भन्ने कुनै स्वार्थ नजोडिएका २ जना पनि मानिस पाउन गाह्रो रहेको बताए ।

‘संसदीय अंक गणित त जोडिन्छ, घटाइन्छ । के गर्दा हुन्छ भन्ने त हामीलाई थाहा छ । ७९ सिट भएको एमालेले चाहँदा सरकार बन्न बिर्गानलाई धेरै ठूलो कुरा होईन । सरकारको वैधता उसले जनताको समर्थन प्राप्त गरिरहन पर्छ । त्यही एउटा जुइनोले जोगाइरहेको हुन्छ । भेट्नो कुहिएको छ । जनताको समर्थन यो सरकारलाई छैन,’– उनले भने ।