काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सत्ता गठबन्धन दलकी साझा उम्मेदवार चम्पा कार्कीलाई कांग्रेसबाटै घात भयो भनेर अहिलेनै निश्कर्ष निकाल्नु हतार हुने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसभित्र गुट, उपगुट भएपनि साझा निर्णय हुने र त्यो निर्णय सबैले मान्ने बताए । उनले कोशीमा सत्तारुढ गठबन्धन दलकी साझा उम्मेदवार कार्कीले चुनाव हारेको विषयमा पार्टीभित्र र गठबन्धन दलको बैठकमा पनि समीक्षा हुने बताए ।
साथै, राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामलाई लिएर गठबन्धन र सरकारमा कुनै दरार नआउने उनको दाबी छ । मन्त्री महतले निर्वाचनको परिणामले कांग्रेस नेता शेखर कोइराला र एमालेबीच अर्को गठबन्धन नबन्ने जिकिर गरे । उनले कांग्रेसभित्र गुट, उपगुट भएपनि सभापति शेरबहादुर देउवाले सबैको कुरा सुनेर सबैको सहभागिता हुनेगरी निर्णय गरेको बताए । सभापति देउवाको निर्णयबाहेक दायाँबायाँ नहुने उनको दाबी छ ।
‘त्यस्तो सम्भव छैन । कांग्रेस पार्टी एक छ । यद्यपि यहाँभित्र गुट होलान्, उपगुट होलान्, मतभेद होलान्, तर हाम्रो निर्णय सर्वसम्मत भइरहेको छ । खास्सै विमती छैन । यद्यपि हाम्रो व्यक्तिवादी प्रवृत्तिहरु छन् । संस्थागत निर्णय भएपनि बाहिर गएर अर्को भन्दिने प्रवृत्तिहरु नभएको होईन । त्यो स्वस्थ्यकर प्रवृत्ति होईन । मूलभूत रुपमा पार्टीभित्र पार्टी सभापति अत्यन्त उदारताका साथ उहाँ प्रस्तुत हुनुहुन्छ । सबैको दृष्टिकोणहरुलाई सुन्नुहुन्छ । निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्नुहुन्छ । कुनै निर्णय लिनुपर्यो , सबैको पोइन्ट अफ भ्युवलाई मध्यनजर राखेर चाहे उम्मेदवारी दिने कुरा होस्, चाहे अरु कुरा होस् त्यो गरिराख्नु भएको छ । मतभेद छन् । गु्ट उपगुट छैन । तै पनि अल्टिमेटली एउटा निर्णय हुन्छ । सबै त्यो निर्णयको पछि हुन्छन्,’– उनले भने ।




प्रतिक्रिया