हडपेको सरकारी जग्गा फिर्ता गर्न विनोद चौधरीलाई एमाले सांसद सूर्य थापाको सुझाव


काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले विनोद चौधरीलाई हडपेको सरकारी जग्गा फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्ना भाइ अरुण चौधरी पक्राउ पर्नु प्रतिशोध हो भन्ने लाग्छ भने उक्त जग्गा फिर्ता गरेर देखाउन भनेका हुन् ।

‘१० रोपनी जग्गा बाँसबारी छाला जुत्ता कारखानाको नाममा फिर्ता गरेको घोषणा गर्नुस् विनोद चौधरीजी । यसमा विभिन्न हिसाबले प्रतिशोध हो भन्ने लाग्छ भने प्रतिशोध हो कि होईन, त्यो फिर्ता गरेको घोषणा गर्नुस् न । तपाईँ र तपाईँको भाइको नियत राम्रो रहेछ भन्ने त्यसपछि थाहा हुन्छ,’– उनले भने ।

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको भन्दै विनोद चौधरीका भाइ अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गत बिहिबार पक्राउ गरेको थियो । कांग्रेसबाट निर्वाचित सांसदसमेत रहेका विनोद चौधरीले आफ्ना भाइ पक्राउ परेपछि हिजो (शुक्रबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

नेता थापाले औधोगिक घरानाका व्यक्तिहरु र प्रतिष्ठित व्यक्तिहरु यस्ता प्रकारका नचाहिने काममा किन संलग्न भइरहेका छन् भनेर आफूलाई अचम्म लागिरहेको बताए ।