Logo

पीडितको भावनाअनुरुप टिआरसी विधेयक पारित गर्नुपर्छ: पूर्व उपसभामुख तुम्वाहाम्फे



झापा, २२ माघ । प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छन् ।

प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उनले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राखेकी हुन् ।

शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न पूर्वउपसभामुख तुम्वाहाम्फेले सुझाव दिईन् । “पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन,” उनले भनिन्, “सङ्क्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान दिनु पर्छ ।”

पूर्वउपसभामुख तुम्वाहाम्फेले सर्वोच्च अदालतको फैसलाअनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन पाउने बताइन्। उनले भनिन् “यो अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन गर्न पाइँदैन ।”

यसैबीच प्रेस चौतारी झापाले स्थापना दिवसका अवसरमा संस्थाका पूर्वअध्यक्ष तोयानाथ दाहाललाई २५ हजारसहित सम्मान गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot