चालकहरूको अर्को संस्था ‘स्वतन्त्र चालक संघ नेपाल’ दर्ता, फागुन १९ गते रक्तदान कार्यक्रम आयोजना


काठमाडौं, २५ माघ । सवारी चालकहरूको अर्को संस्था ‘स्वतन्त्र चालक संघ नेपाल’ दर्ता भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघ नेपाल दर्ता भएको जानकारी गराइएको हो । कानुन व्यवसायी मनिषकुमार श्रेष्ठले स्वतन्त्र चालक संघका अध्यक्ष धनबहादुर श्रेष्ठ ‘मिलन’ लाई संस्था दर्ता प्रमाणपत्र हस्तान्तरण गरे ।

स्वतन्त्र चालक संघका अध्यक्ष श्रेष्ठले देशभरका चालकहरुको हक हितका लागि संस्था दर्ता गरिएको बताए । विगत ४०÷५० वर्षदेखि यातायातको क्षेत्रमा मजदु्री गर्दै आएका मजदुरहरुले पाउनु पर्ने सेवा सुविधा र हकको संरक्षण गर्न आफूहरुले संस्था दर्ता गरेको उनको भनाइ छ । चालक, दुर्घटनामा परेका पीडित र चालकका परिवारको हक हितका लागि आफूहरु निरन्तर लागिरहने उनले बताए ।

साथै, चालकहरुले सबै वर्ग र क्षेत्रका मानिसहरुलाई बोकेर सहयोग गरेपनि आफूहरुको पेशालाई राज्यले सम्मानजनक पेशाको रुपमा नलिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, स्वतन्त्र चालक संघले आगामी फागनु १९ गते रक्तदान कार्यक्रम आयोजना गरेको पनि उनले जानकारी गराए । दुर्घटनामा हुँदा अत्यावश्यक पर्ने भएकाले आफूहरुले रक्तदान कार्यक्रम गर्न लागेको उनले बताए ।

अधिवक्ता श्रेष्ठले नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्र रुपमा पेसा तथा व्यवसाय छनोटको अधिकार दिएको भन्दै विधि र कानुनसम्मत भएर पेशामा लागिरहन आग्रह गरे । आम देशभरिका चालक, दुर्घटनामा परेका पीडित र उनीहरुको परिवारका लागि सकारात्मक सोचको भावले संस्था दर्ता भएको भन्दै उनले शुभकामना व्यक्त गरे ।

अर्का वक्ता राजन डाँगीले आफूहरुले राजनीतिक दलहरु भन्दा टाढा रहेर चालकहरुको हक हितका लागि संस्था दर्ता भएको बताए । अहिले आफूहरुको पहिचान नै गुमेको अवस्था रहेको भन्दै उनले चालकहरुको आवाज बुलन्द पार्न संस्था दर्ता भएको बताए । उनले चालकहरुलाई हातेमालोका लागि आह्वान गरे ।