काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले वैद्धिक सनातन हिन्दु धर्म मजाकको विषय नभएर मुलुकको सबैभन्दा बढी संवेदनशील विषय बनेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हिन्दु धर्मको एजेण्डालाई कांग्रेसले गम्भीर रुपमा लिएर सम्बोधन गर्ने बताए । कांग्रेसले मात्रै नभएर हिन्दु राष्ट्रको पक्षमा जनताले समेत चाहना व्यक्त गरिरहेको उनको दाबी छ ।
‘यो मजाकको विषय होईन । मुलुकको सबैभन्दा संवेदनशीलमात्रै नभई नेपाली जनताको चिन्ता र चासोको सन्दर्भ र विषय हो । यो कुरालाई कांग्रेुसले गम्भीर रुपमा लिएर यसलाई सम्बोधन गर्नुपर्छ भन्ने सन्दर्भमा हामी लागेका छौं । हामी कांग्रेसको मात्रै कुरा होईन । नेपाली जनताको कुरा छ,’– उनले भने ।
नेता भण्डारीले संविधान सभाबाट संविधान जारी हुनुभन्दा अगाडि ८० प्रतिशत जनताबाट वैद्धिक सनातन हिन्दुराष्ट्र बनाउन पर्छ भनेर लिखित जनमत दिएको बताए । आफूले कहिले पनि धर्म निरपेक्षा स्वीकार नगरेको उनको दाबी छ । ‘संविधान सभामा मैले फरक मत जाहेर गरेको थिएँ । पार्टीको निर्देशनलाई मैले त्यो बेला आत्मसात गरे । अहिले त्यो गल्तीलाई सच्याउन पर्छ । मैले त्यो बेला हस्ताक्षर गरेको हो, पार्टीको निर्णय मानेको हो । म धर्म निरपेक्षताको पक्षमा थिईँन,’– उनले भने ।
वैद्धिक सनातन धर्मको विषय दलका नीति तथा सिद्धान्तभन्दा फरक विषय भएको उनले बताए । नेता भण्डारीले वैद्धिक सनातन धर्मको विषय राष्ट्रसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय विषय भएकाले दलीय आवस्यकता र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।




प्रतिक्रिया