काठमाडौं, ६ फागुन । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘एनआईसी एसिया बैंक डुब्दै छ, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला’ भनेर सामाजिक सञ्जालमा लेखे । प्रसाईँले सामाजिक सञ्जालमा लेखेपछि ‘एनआईसी एसिया बैंक डुब्दै छ’ भन्ने भ्रम सबैतिर फैलियो । प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा उक्त बैंकका बारेमा दैनिक नकारात्मक समाचारहरु आउन थालेका छन् ।
बैंकको वित्तीय अवस्थाबारे थोरै पनि ज्ञान नभएका प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा बैंकले भने आफ्नो व्यवसायिक क्षति व्यहोर्नु पर्यो । एनआईसी एशिया बैंक डुब्दैछ भन्ने हल्ला व्यापक रुपमा आउन थालेपछि नेपाल राष्ट्र बैंक पनि बोलेको छ । नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकको वित्तीय सूचक हालसम्म राम्रो रहेको बताएको छ । साथै हल्लाको पछि नलाग्न पनि नेपाल राष्ट्र बैंकले सबैलाई अपील गरेको छ ।
त्यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले ‘फलानो बैंकबाट सबै बचत फिर्ता गर्न थाल, खत्तम हुँदैछ भनेर हौवा फैलाएर बैंङ्किङ क्राइसिस् ल्याउने कोशिस’ भइरहेको भन्दै हल्लाको पछि नालग्न आग्रह गरे । वित्तीय क्षेत्रमा भ्रम फैलाउने त्यस्ता प्रवृत्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई विचलन गराउने प्रयास सफल हुन नदिने समेत उनले बताए ।
‘अनावश्यक रुपमा समाजमा भ्रम फैलाएर प्यानिकको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्त गर्न सक्छौं भन्ने कसैलाई लागेको छ भने त्यो सफल हुने छैन ।’ अर्थमन्त्री महतले भने, ‘अहिले नै म त्यो खबरदारी गर्न चाहन्छु । त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन । आम बचतकर्ता लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनमा लाने प्रयास हो । यो सम्भव छैन ।’
एनआईसी एशिया बैंकको सूचांकहरुलाई विश्लेषण गर्दा मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायतका सूचकहरु वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट रहेको छ । एनआईसी एशिया बैंक बाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पर्दै आएको बैंक हो । कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको छ ।
एआईसी एशियाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।
एनआईसीको खराब कर्जा दर १.१९ प्रतिशत छ । ५ प्रतिशतभन्दा कम खराब कर्जा हुनु स्वभविक मानिन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकको नीतिअनुसार बाणिज्य बैंकको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब हो । हाल एनआईसी एशियाको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ छ ।
एनआईसी एशियाले संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना र सबै वित्तीय सूचकहरुमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट आफूहरु पहिलो रोजाईको बैंक भएको बताउँदै आएको छ ।
साथै, बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्कोसमेत नरहेको र बैंकको सम्पूर्ण संरचना सदाझैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसाबले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको छ ।
एनआईसी एशियाले हाल देशभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत बैंकले आफ्ना शाखा विस्तार गरेको छ । देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ ।
‘




प्रतिक्रिया