Logo

ओलीसँग सहकार्यको लागि प्रचण्डमाथि दबाब बढाउँदै विप्लव–वर्षमान, एक्लिए जनार्दन



काठमाडौं, १३ फागुन । समाजवादी मोर्चाको संयोजक बनेलगत्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक सक्रियता बढाएका छन् । मोर्चाको बैठक राखेर भावी योजना बनाउनेदेखि लिएर कम्युनिष्ट घटकहरुसँग सहकार्यको लागि उनको सक्रियता बढेको हो । समाजवादी मोर्चामा चक्रीय प्रणालीअनुसार नेतृत्व चयन हुने गरेको छ।

मोर्चाको संयोजक यसअघि माधव नेपाल थिए । माधव नेपालकै जोडबेलामा यसपटक संयोजकमा विप्लव चुनिएको चर्चा छ । विप्लवलाई पछिल्लोसमय भूमिगत राजनीतिबाट बाहिर ल्याउनको लागि तत्कालिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण भूमिका खेलेका थिए । ओली प्रधानमन्त्री हुँदा नै नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो ।

अहिलेसम्म उक्त सहमति कार्यान्वयन नभएको भन्दै विप्लवका नेता तथा कार्यकर्ताले दबाब सिर्जना गरिरहेका छन् । अहिले सरकारको नेतृत्व आफ्ना पूर्व सर्वोच्च कमाण्डर प्रचण्डले गरेका छन् । यस्तो बेलामा विप्लवले सरकारसँग भएको यसअघिको तीन बुँदे सहमति कार्यान्वयन गर्नेगरि आफूलाई मुभ गराएका छन् ।

उनले मोर्चाको संयोजक बनेलगत्तै वामपन्थीहरुबीच सहकार्यको आवश्यकत्ता औंल्याएका छन् । मोर्चाको हिजो बसेको बैठकले एमालेसहितलाई सहकार्यको लागि पत्राचार गर्ने सहमति गरेको छ । विप्लवलाई यसरी बहृत्त वामपन्थी सहकार्यको लागि पहल लिन सुझाउने पात्र चाहीँ नेकपाका उपमहासचिव वर्षमान पुन रहेको बुझिएको छ । अहिले विप्लव र वर्षमानबीच सुमधुर सम्बन्ध छ । वर्षमानले विप्लवलाई माओवादीसँग एकताको लागि दबाब दिइरहेका छन् ।

यसअघि विप्लवलाई प्रचण्डसँग सहकार्यको थालनी गर्ने विन्दुमा पुर्याउन कृष्णबहादुर महराले भूमिका खेलेका थिए । अहिले महरा र प्रचण्डबीच सम्बन्ध चिसिएको छ । महराको राजनीतिक सक्रियता खुम्चिएको बेलामा वर्षमानले आफूलाई सक्रिय बनाएका छन् । पछिल्लो समय प्रचण्डले परिवर्तनको नायक माओवादी भएपनि आफूहरु विभाजित हुँदा परिवर्तन नचाहने शक्तिहरुले धावा बोलेको भन्दै सबै माओवादी घटकहरुलाई एक हुन आह्वान गर्दै आएका छन् ।

वर्षमानले अहिले प्रचण्डसँगको सल्लाहमै विप्लवलाई पार्टी एकताको लागि प्रस्ताव गरेको बुझिएको छ । विप्लवपनि एकताको लागि राजी भएको बुझिएको छ । वर्षमानले अहिले माओवादीलाई कांग्रेससँगको सत्ता–सहकार्य महँगो सावित हुने भन्दै बेलैमा कांग्रेसको साथ छोडेर एमालेसँग सहकार्य गर्नुपर्ने आवाज उठाउन थालेका छन् । राष्ट्रियसभाको निर्वाचनको बेला कोशीमा कांग्रेसले धोका दिएको भन्दै वर्षमानले कांग्रेससँगको गठबन्धनको औचित्यबारे नै सार्वजनिक रुपमै प्रश्न उठाउन थालेका छन् ।

अर्का उपमहासचिव जनार्दन शर्माले भने अहिले गठबन्धन दायाँबायाँ गर्न नहुने मत राखेका छन् । उनी विप्लवलाई पनि पार्टीमा ल्याउन नहुने पक्षमा रहेको स्रोतको दाबी छ । अप्ठ्यारो पर्दा सबैभन्दा बढि आफूहरुले प्रचण्डलाई साथ र सहयोग गरेको भन्दै जनार्दनले हिजो पार्टीलाई धोका दिएर हिँडेकालाई अहिले महत्व दिन नहुन भन्दै विप्लवको घर फिर्ती तयारीमा अवरोध खडा गरेको चर्चा छ ।

विप्लवसँगको प्रचण्डको सहकार्य अनि मोर्चाको संयोजक बनेपछि वर्षमानले सहकार्यको हात बढाउँदा जनार्दन भने पार्टीमा एक्लिएका छन् । माओवादीमा नेतृत्वको लागि वर्षमान र जनार्दनबीच नै होडबाजी चल्ने गरेको छ । ०७८ सालमा सम्पन्न महाधिवेशनमा पुन र शर्मा महासचिवका दाबेदार थिए । माओवादीभित्र शक्ति–संघर्ष यी दुई नेताबीच नै हुने गरेको चर्चा छ ।

विप्लवलाई भित्र्याएर प्रचण्डले दुवै नेतालाई साईजमा राख्न खोजेको पनि अर्को चर्चा हुने गरेको छ । अहिले एमालेसँग सहकार्यको लागि विप्लव र वर्षमानले प्रधानमन्त्री दाहालमािथ दबाब सिर्जना गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहकार्यको लागि प्रचण्डसँग छलफल अघि बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot