Logo

संसद्मा एमालेको प्रश्न: ‘सुप्रिमो’ कसैको ‘कम्फरटेबल’ घोडा बनेको हो ?



काठमाडौं । विवादमा मुछिएका चार मन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज बसेको बैठकमा बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, उपप्रधान तथा गृहमन्त्ती नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेको हो ।

आजको बैठक सुरु हुनासाथ एमालेसहित रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । विपक्षीको विरोधपछि सभामुख देवराज घिमिरेले एमाले सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिएका थिए ।

सभामुखले समय दिएपछि बोलेका सांसद बाँस्कोटलाले सरकारले अविलम्ब चार मन्त्रीलाई बर्खास्त गर्न माग गरे ।
“प्रधानमन्त्रीले आजै भन्नुपर्छ, विवादित मन्त्रीहरूको विषयमा राजीनामा गर्ने कि बर्खास्त गर्ने ? ती मन्त्री हटाइनुपर्छ । सधैँ प्रश्न उठाउने, सरकार नाजवाफ हुने ?,” उनले भने ।

प्रधानमन्त्रीलाई ‘सुप्रिमो’ भनिने भन्दै बास्कोटाले ‘कसको दबाबमा जवाफ नदिएको ?’ भनी प्रश्न गरे ।

“प्रधानमन्त्रीलाई प्रचलित भाषमा सुप्रिमो भन्छन्, को छ उहाँभन्दा माथि ? अरूले लगाएजस्तो कम्फरटेबल घोडा बनेको हो ?,” उनले प्रश्न गरे ।

‘प्रतिपक्षीलाई दोष लगाएर गठबन्धनको झन्डा हल्लाएर सुशासन आउँछ ?’ भनी उनले थप प्रश्न गरे ।

उनले आफूमाथि आरोप लागेपछि कून नैतिकताले पदमा बस्न मिल्छ भन्दै प्रश्नसमेत गरेका छन् । ‘सार्वजनिक पदमा बस्ने मान्छेहरुका बारेमा गम्भीर ढंगले प्रश्न उठिसकेपछि पद छोड्न के–ले रोकेको छ ? पदमा बसेर नैतिकताको फलाको हालेर हिँड्न मिल्दैन । उहाँहरुले पद छोड्नुपर्छ । चाहे गृहमन्त्री होस्, चाहे भौतिक मन्त्री होस्, चाहे संस्कृति मन्त्री होस्,’– उनले भने ।

सामन्तवादको अवशेषलाई बोकेर समाजवादको कुरा गर्न नमिल्ने उनको भनाइ छ । उनले मन्त्रीसँग जवाफ माग्दा ‘बहादुरले गोली लुकाउँछ, कायरले घडी लुकाउँछ’ भन्ने जवाफ आएको भन्दै आपत्ति जनाए । उनले मिटरब्याजीहरुको समस्यामा गृह मन्त्रालय के गरेर बसेको छ भनी प्रश्नसमेत गरे ।

‘लुम्बिनीमा बुद्ध धर्मको केन्द्रको आस्थामाथि खुलेआम त्यही भएको छ । मैले विहानमात्रै सुनेँ– बहादुरले गोली लुकाउँछ, कायरले घडी लुकाउँछ । मन्त्रीको भनाइ । कसलाई भनेको ? सांसदहरुले प्रश्न उठाउँदा खेरी जवाफ दिने ठाउँमा ओठे जवाफ फर्काएर उन्मुक्ति पाइँदैन,’– उनले भने ।

बाँस्कोटापछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिएका थिए । उनीहरुले बोलेपछि पनि एमाले सांसदहरुले निरन्तर विरोध गरिरहे । । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।

एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot